६ मंसिर २०८२, शनिबार

कविताः बातचित

कोलोराडोखबर संवाददाता , November 22nd, 2025

–लक्ष्मण आचार्य–
धेरै दिनपछि
साथीहरू भेट भयो
आफन्त नातागोता
इष्टमित्र र आफन्तीहरूसँग
मुलाकात भयो

सदाझैँ यसपालि पनि भेटमा
देशका कुरा भए
राजनीतिका कुरा भए
आन्दोलनका कुराहरू भए
आजसम्मका
क्रान्ति र यसका
विध्वंस र उपलब्धिका कुरा भए
जय पराजयका कुराहरू भए

मूलबाटोमै ठडिएको
रूखको सोझोपन
र बाङ्गोपनका कुराहरू भए
कसरी उदाउँछ घाम

कसरी लाग्छ ग्रहण ?
यसपालिको ग्रहण
र बिग्रदो मौसमका
कुराहरू भए

उत्सव छ
पर्व छ
टाढा कतै बजिरहेछन्
मन्दिरमा घन्टहरू
बिजयाको टीका थाप्न
मानिसहरू ओहोरदोहोर गरिरहेछन्
यतिखेरै निस्किरहेछ
कतै मलामीको लर्को
एकसाथ बजिरहेछ
खुसीको मङ्गल धुन
र एकहोरो शङ्ख
कोही रोकिएको छ जेब्राक्रसिङमा
कोही फसेको छ जाममा
कसैको हात बारम्बार पुगिरहेछ
दक्षिणा र बन्द खाममा

यसरी क्रमशः
समापन हुँदै छ विजया दसैँ
यतिखेर घर फर्केपछि
सोचिरहेछु
बातचितमा के के कुराहरू भए ?
महिषासुरहरूले डामिरहेको समयमा
आजसम्म
देशमा जनहित र
देशहितमा के के कुराहरू भए ?

–चन्द्रनिगाहपुर, रौतहट ।

प्रतिक्रिया दिनुहोस्