३० कार्तिक २०८२, आईतवार

अमेरिका निवासी इन्जिनियर झाद्वारा साहित्यकार विश्वराज र सञ्जयको नाममा पुरस्कार कोष स्थापना

कोलोराडोखबर संवाददाता , November 16th, 2025

नेपाल । रौतहटको गरुडामा विश्व–सञ्जय बज्जिका साहित्य कोषको स्थापना गरिएको छ । सर्लाही घर भई हाल अमेरिकामा रहेर साहित्य सिर्जना गरिरहेका विश्वराज अधिकारी र रौतहटको गरुडाका साहित्यकार सञ्जय साह मित्रको नाममा सर्लाहीको विष्णु गाउँपालिका सिमराका महानन्द झाले कोषको स्थापना गरेका हुन् ।

झाका छोरा डा. विजय झाले कोषको स्थापनाको घोषणा गर्दै भविष्यमा विस्तार गर्दै लाने र यसबाट बज्जिका भाषाको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

अमेरिकामा इन्जिनियर रहेका डा. झाले कोषमा एक लाख रुपैया घोषणा गरेका हुन् । हरेक वर्ष कोषको रकमलाई विस्तार गर्दै लैजाने बताउँदै डा. झाले कोषमा रहेको रकमले प्राप्त ब्याजबाट बज्जिका भाषा र साहित्यको विकासमा काम गर्ने जिम्मेवारी बज्जिका साहित्य संगम रौतहटलाई दिएका छन् ।

बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष किशुनदयाल यादवको सभापतित्वमा गरुडा नगरपालिका ५ महम्मदपुरस्थित गोपाल सेवा समितिको भवनमा शनिवार दिउँसो गरिएको कार्यक्रममा भाषा आयोगका हालै सेवा निवृत्त माननीय गोपाल अश्क प्रमुख अतिथि थिए । अश्क भोजपुरी, नेपाली र हिन्दी भाषाका ठुला साहित्यकार हुन् ।

प्रमुख अतिथि अश्कले कुनै पनि भाषा बचाउन घरभित्र बोलिनुपर्ने र विद्यालयमा पढाइ हुनुपर्ने महत्वपूर्ण रहेको बताउँदै साहित्य सिर्जनामा स्तरीयता अनिवार्य रहेको बताएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै पर्सा जिल्लाको वीरगंजस्थित कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख हरिशंकर जयसवालले मातृभाषामा पनि साहित्य सिर्जना भइरहेको सुनेर निकै खुसी लागेको बताउँदै कोषमा एक लाख रुपैया दिने घोषणा गर्दै आगामी दिनमा पनि बज्जिकाको सेवा गर्न आफू तयार रहेको बताएका छन् ।

कार्यक्रममा माधव नारायण नगरपालिकाको खेसरहियाका सेवा निवृत्त शिक्षक बिन्दा साहनीले २५ हजार रुपैया कोषमा नगद उपलब्ध गराउने घोषणा गर्दै खेसरहियाको घरलाई नै बज्जिकाको लागि मरणोपरान्त दानमा दिने घोषणा गरेका छन् । साहनीले हालै घर निर्माण गरेको बताएका छन् ।

कार्यक्रममा यमुनामाई गाउँपालिका २ का वडाध्यक्ष सीताराम यादवले पनि कोषमा २५ हजार रुपैया नगद दिने घोषणा गरेका छन् । वडाध्यक्ष यादवले बज्जिकाको अतिक्रमण साहित्य सिर्जनाले विस्तारै कम हुँदै जाने विश्वास व्यक्त गरेका छन् ।

पूर्व जिल्ला शिक्षा अधिकारी बालदेवप्रसाद साह, भेडियाहीस्थित माध्यमिक विद्यालयका प्रधानाध्यापक वीरेन्द्र राय यादव, पिपरा भलोहियास्थित सरस्वती माविका सहायक प्रधानाध्यापक बिगन साह रौनियार, पर्साका साहित्यकार विनयराज गौतम लगायत करिब दुई दर्जन साहित्यकारहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

कार्यक्रममा उपस्थितलाई बज्जिका साहित्य संगम रौतहटकी सदस्य संगीताकुमारी सहनीले स्वागत गरेकी थिइन् । कार्यक्रमको सञ्चालन सञ्जय साह मित्रले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्