नेपाल । निबन्धकार बोधराज पौडेलको दोस्रो निबन्धकृति ‘धमिराको देवल’ एक कार्यक्रमबीच सार्वजनिक भएसँगै उक्त कृतिमाथि परिचर्चासमेत सम्पन्न भएको छ ।
शुक्रबार अनामनगरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि समालोचक तथा निबन्धकार प्राडा लक्ष्मणप्रसाद गौतमले कृति लोकार्पण गर्दै निबन्ध लेखन एउटा लेखकका लागि जटिल विधा भएको उल्लेख गरे ।
निबन्ध लेखन सजिलो नभएको चर्चा गर्दै उनले लेखक स्वयम् बोल्नुपर्ने र त्यहाँ झुठो बोल्न नपाइने भएकाले यो आफैँमा कठिन विधा भएको उल्लेख गरे । प्रा।डा। गौतमले पौडेल संभावना बोकेका निबन्धकार भएको बताए ।
कृतिमाथि चर्चा गर्दै साहित्यकार प्रमोद प्रधानले ‘धमिराको देवल’मा कृतिकारको चिन्तन अभिव्यक्त भएको बताए । पौडेलको सार्वजनिक कृतिमा मान्छेको जीवन, प्रकृति र दृश्यहरूको अभिव्यक्ति चित्रण भएको उल्लेख गर्दै यसभित्र प्रभावकारी निबन्धहरू समेटिएको चर्चा गरे ।
अर्का समीक्षक प्राडा गोविन्दमानसिंह कार्कीले पौडेलको यस निबन्धकृतिभित्र गरिबी र विपन्नताका कुरा, जीवनको अर्थ खोज्ने खालका प्रसंग, मनका भावनाहरू र मनोविश्लेषण पनि पाइने उल्लेख गरे ।
कार्यक्रममा निबन्धकार पौडेलले आफूले निबन्ध किन लेखेँ भन्ने विषयमा चर्चा गर्दै आफूले जे देखेँ, जे भोगेँ, त्यही लेखेको बताए ।
शंकर लामिछाने प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा राधेश्याम लेकाली, हिरण्यकुमारी पाठक लगायतले बोलेका थिए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्