नेपाल । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले देशका सबै प्रदेशमा एकता सन्देश सभा सञ्चालन गर्ने भएको छ । साथै आगामी निर्वाचनका तयारी कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने निर्णय गरेको छ ।
पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पेरिसडाँडामा बसेको बैठकले तीन बुँदे निर्णय गर्दै सङ्गठन र जनपरिचालनलाई अझ सशक्त बनाउने निर्णय गरेको हो ।
प्रवक्ता अग्नी प्रसाद सापकोटाद्वारा जारी प्रेस नोटअनुसार, पहिलो निर्णयमा सबै प्रदेशमा एकता सन्देश सभाका कार्यक्रमहरू सञ्चालन गर्ने भनिएको छ । दोस्रो बुँदामा घोषणा गरिएको निर्वाचन तयारीसम्बन्धी कार्यहरूलाई व्यवस्थित, प्रभावकारी र अभियानका रूपमा अघि बढाउने उल्लेख छ ।
तेस्रो बुँदामा पार्टीका जनवर्गीय सङ्गठन, मोर्चा तथा सहायक सङ्गठनहरूलाई समन्वयमा ल्याई जनपरिचालन कार्यक्रम सञ्चालन गर्न निर्देशन गरिएको छ ।
पार्टीले जारी प्रेस नोटमा देशभर जनसंगठनहरूबीच एकता र साझा अभियान विस्तारका लागि तयारी तीव्र पारिने जनाएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्