१२ कार्तिक २०८२, बुधबार

एनआरएनएद्वारा ७५ लाख ४४ हजारमा निर्मित अत्याधुनिक ट्राफिक कन्ट्रोल रुम हस्तान्तरण

कोलोराडोखबर संवाददाता , October 29th, 2025

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखा, रामशाहपथमा निर्माण गरिएको अत्याधुनिक ट्राफिक कन्ट्रोल रुम औपचारिक रूपमा नेपाल प्रहरीलाई हस्तान्तरण गरेका छन् ।

मङ्गलवार आयोजित कार्यक्रममा अध्यक्ष महेशकुमार श्रेष्ठले उपत्यका प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीलाई कन्ट्रोल रुमको साँचो हस्तान्तरण गरेका हुन् ।

७५ लाख ४४ हजार रुपैयाँको लागतमा सम्पन्न परियोजनामा सिभिल निर्माण, आधुनिक डिजाइन, भिडियो वाल, नेटवर्क प्रणाली र अपरेशनल उपकरणहरूको प्रतिस्थापन तथा मर्मत कार्य गरिएको छ । योसँगै काठमाडौं उपत्यकाका मुख्य सडकहरू सिसिटिभीको निगरानीमा रहने छन् ।

श्रेष्ठले यो परियोजना केवल संरचना हस्तान्तरण नभई प्रवासी नेपालीहरूको मातृभूमिप्रतिको जिम्मेवारी र सहकार्यको प्रतीकको रूपमा रहेको बताए ।

उनले स्मार्ट, सुरक्षित र दिगो सहर निर्माणतर्फ यो कदमले नयाँ अध्याय सुरु गरेको बताउँदै त्यसका लागि एनआरएनएले आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि जनाए । श्रेष्ठले विश्वका स्मार्ट सहरहरू सिङ्गापुर, टोक्यो, लन्डन र दुबईका ट्राफिक प्रणालीबाट प्रेरणा लिँदै नेपालमा पनि कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित ट्राफिक व्यवस्थापन र रियल टाइम डेटा मनिटरिङ प्रणाली लागू गर्नुपर्ने आवश्यकता औँल्याए ।

एनआरएनएले दोस्रो चरणमा मादक पदार्थ सेवन (मापसे) चेकिङका लागि ब्रेथलाइजरहरू हस्तान्तरण गर्ने जनाएको छ । ट्राफिक प्रहरी कन्ट्रोल रुम हस्तान्तरण कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक ९एआइजी० कार्कीले यो सहकार्यका लागि गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद्प्रति आभार व्यक्त गरे ।

उनले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई अब प्रविधिमा आधारित ‘स्मार्ट सिटी’ को अवधारणामा लैजानुपर्नेमा जोड दिए । उनले ट्राफिक व्यवस्थापन केवल प्रहरीको काम मात्र नभई सम्पूर्ण सरोकारवालाको सामूहिक दायित्व भएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्