२ कार्तिक २०८२, आईतवार

एमालेको ११औं महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने निर्णय

कोलोराडोखबर संवाददाता , October 18th, 2025

नेपाल । नेकपा (एमाले) ले पार्टीको ११औँ महाधिवेशन अगामी मंसिर २७ देखि २९ गतेसम्म कास्कीको पोखरामा गर्ने निर्णय गरेको छ।

शुक्रवार सम्पन्न पार्टी केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम जानकारी दिए । उनका अनुसार बैठकमा अध्यक्ष ओलीले महाधिवेशनको मितिसहित प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन समेत सुझावसहित पारित गरिएको छ ।

उनले जेनजी पुस्ताले अघि सारेका माग पूरा गर्न प्रतिनिधिसभा पुनःस्थापनको मुद्दालाई अघि बढाउने निर्णय गरिएको पनि बताए । उनले सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको कारण पनि एमाले प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा उभिएको दावी गरे ।

सरकारले मुठभेटको वातावरण बनाइरहेको, नेताहरूको चरित्र हत्या गरेको, सन्देहास्पद पात्रहरू दलका नेतालाई भौतिक हमला गर्न खोजिरहेको र चुनावी परिणाम पनि नस्विकार्ने चेतावनी दिइरहेको अवस्थामा निर्बाधपूर्वक मतदान हुन नसक्ने गौतमको जिकिर छ ।

एमालेले निर्वाचन पनि नहुने र प्रतिनिधिसभा पनि पुनःस्थापना हुन नसक्ने अवस्थामा देश भयंकर राजनीतिक अस्थिरता र अराजकतातिर जाने जोखिम रहेको पनि निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्