१७ आश्विन २०८२, शुक्रबार

कोलोराडोमा हुने नेपाली राहदानी सेवा शिविरमा अनलाइन आवेदन फारम भर्ने तरिका

कोलोराडोखबर संवाददाता , September 28th, 2025

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । अमेरिकाको कोलोराडोमा आगामी अक्टोबर १०, ११ र १२ तारिखमा आयोजना हुन लागेको राहदानी सेवा शिविरमा सेवालिन सेक्टेम्बर २५ तारिक देखि अनलाइन आवेदन खुलेको छ ।

नेपाली कम्युनिटी सेन्टर नेपाली घरमा आयोजनाहुने सेवा शिविरमा सेवालिन चाहनुहुने महानुभावहरूका लागी वाशिङ्गटन, डी सी स्थित नेपाली राजदुतावासले सेप्टेम्बर २५ मा एक सुचना जारीगरी यसबारे जानाकारी गराएको हो ।

आगामी अक्टोबर १०, ११ र १२ तारिखमा आयोजना हुने उक्त शिविर नेपाली घर (4001 W 76th Avenue Westminster) मा सञ्चालन हुनेछ । सेवा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म उपलब्ध हुने बताइएको छ । सेवा शिविरमा राहदानी नवीकरण, एनआरएन कार्डको अवेदन संकलन, र ट्रावल डकुमेन्टको सेवा उपलब्ध हुने नेपाली घरका अध्यक्ष बसन्त लम्सालले बताएका छन् ।

राजदुतावासले शिविरमा सहभागी हुन चाहने आवेदकहरूका लागि अनलाइन फाराम भर्ने प्रक्रियाबारे विस्तृत जानकारी दिएको छ । जसमा सबैभन्दा पहिले आफ्नो कम्प्युटर वा मोबाइलको समय क्षेत्र (Time Zone) Kathmandu, Nepal मा सेट गर्नुपर्नेछ। त्यसपछि, राहदानी विभागको वेबसाइट https://emrtds.nepalpassport.gov.np/ मा गई Apply for Passport छनौट गर्नुपर्छ। राहदानी नवीकरणका लागि Renewal/Replacement छनौट गरी साधारण ३४ वा ६६ पृष्ठको विकल्पमा अगाडि बढ्नुपर्नेछ। Appointment Location मा Other छनौट गरी Appointment Country मा Washington DC चयन गर्नुपर्नेछ ।

यस घुम्ती शिविरका लागि विशेष रूपमा उपलब्ध गराइएको अक्टोबर १०, ११ र १२, २०२५ को मिति छनौट गरी फाराम भरेर अन्त्यमा बारकोड सहितको PDF फाराम डाउनलोड गरी प्रिन्ट गर्नुपर्नेछ । आवेदकले आफ्नो पालोको मिति र समयबारे स्थानीय संयोजकबाट इमेल वा टेलिफोन मार्फत जानकारी प्राप्त गर्नेछन् ।

आवेदकहरूले शिविरमा उपस्थित हुँदा नेपाली नागरिकताको प्रमाणपत्र, सक्कल राहदानी, बारकोड सहितको प्रिन्ट गरिएको अनलाइन फाराम, नाबालकको हकमा, नाबालक परिचयपत्र वा जन्म दर्ता, बाबुआमाको नागरिकताको प्रतिलिपि र जिल्ला प्रशासन कार्यालयद्वारा जारी विवाह दर्ता प्रमाणपत्र लगायतका कागजातहरूको सक्कल र प्रतिलिपि सहित स्वयं उपस्थित हुनुपर्नेछ । राहदानी बनेर आएपछि आवेदकको ठेगानामा पठाउनका लागि आफ्नो पुरा नाम र ठेगाना लेखिएको पैसा तिरिसकेको फिर्ती खाम पनि साथै लिएर आउनु पर्नेछ ।

राहदानी नविकरण शुल्क दस्तुर डेबिट वा क्रेडिट कार्डबाट मात्र भुक्तानी गर्न मिल्ने छ । ३४ पृष्ठको नयाँ राहदानीका लागि १५० डलर ,६६ पृष्ठको लागि २०० डलर र १० वर्ष मुनिका नाबालकका लागि ७५ डलर शुल्क तोकिएको छ ।

यसैगरी एनआरएन कार्डका लागी अमेरिकी नागरिकताको प्रमाणपत्र प्रतिलिपि, अमेरिकी राहदानीको प्रतिलिपि, नेपाली नागरिकताको प्रतिलिपि, हालसालै खिचिएको पासपोर्ट आकारको फोटो आवश्यक पर्दछ । सबै कागजातका प्रतिलिपिहरू आवेदक आफैँले प्रमाणित गर्नुपर्नेछ । प्रतिलिपिको पछाडि True Copy लेखी आफ्नो हस्ताक्षर र मिति लेख्नु पर्दछ । प्रिन्ट गरिएको र हस्ताक्षर गरिएको अनलाइन आवेदन फाराम (https://nrn.mofa.gov.np/#/dashboard) एकाउन्ट बनाउनु पर्छ । ट्र्याकिङ नम्बर सहितको, आफ्नो ठेगाना लेखिएको र टिकट टाँसिएको फिर्ता खाम साथै लिएर आउनु पर्ने छ । एनआएन कार्डको लागी क्यासियर चेक वा मनी अर्डर The Embassy of Nepal, Washington, D.C. को नाममा ५२० डलरको बनाउनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्