३१ भाद्र २०८२, मंगलवार

फागुन २१ गते हुने निर्वाचनको तयारीमा जुट्यो आयोग

कोलोराडोखबर संवाददाता , September 16th, 2025

नेपाल । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले निर्वाचनको मिति घोषणा गरेपछि निर्वाचन आयोग आमनिर्वाचनको आन्तरिक तयारीमा जुटेको छ ।

आयोगले अबको केही दिनभित्रै प्रधानमन्त्रीसँग थप छलफल गर्ने गरी आन्तरिक तयारीलाई तीव्र बनाएको हो । आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले सरकार गठनसम्बन्धी विषय संविधानसँग जोडिएको भन्दै त्यसबारेमा मौन रहे पनि स्रोत साधन उपलब्ध गराइए तोकिएको मितिमा निर्वाचन गराउन आयोग सक्षम रहेको बताउनुभयो । यद्यपि पाँच जना आयुक्त रहनुपर्ने आयोगमा प्रमुखसहित दुई आयुक्त पद रिक्त छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते शुक्रबार प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधि सभाको निर्वाचन आगामी फागुन २१ गते हुने गरी मिति तोक्नुभएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मिति तोकिएपछि निर्वाचनका लागि आवश्यक आन्तरिक तयारीमा जुटेको बताउनुभयो ।

निर्वाचन आयोग ऐन–२०७३ ले संघीय कानुनमा अन्यथा व्यवस्था भएकोमा बाहेक आयोगको परामर्शमा नेपाल सरकारले निर्वाचनको मिति तोक्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्