अमेरिका । अमेरिकाको टेक्सस राज्यको ड्यालसमा रहेको नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रले अबदेखि नेपाली चाडपर्व मनाउँदा नेपालकै क्यालेण्डरलाई आधार मान्ने निर्णय लिएको छ ।
हिन्दु चाडपर्व मान्ने दिनका सम्बन्धमा विवाद हुन थालेपछि गत हप्ताभरि सर्वेक्षण गरिएको थियो । सो सर्वेक्षणको नतिजा शनिबार सम्पन्न टाउनहल बैठकमा सार्वजनिक गरियो ।
सर्वेक्षण, यसअघिका चाडपर्वहरुमा देखिएको बहुसङ्ख्यकको उपस्थितिलाई आधार मानेर यस्तो निर्णय भएको बताइएको छ । केन्द्र अन्तर्गत अहिले टेक्ससको ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्सको युलेस सिटीमा पशुपतिनाथ मन्दिर र बौद्ध बिहार छन् ।
अमेरिकाका निम्ति भनेर निकालिएका तिथिमा पर्व मनाउने गरी विगत ६ वर्षदेखि मन्दिर तथा बिहारले स्थानीय अलग्गै क्यालेण्डर सार्वजनिक गर्दै आएको थियो । तर ठूलो सङ्ख्यामा भक्तजन तथा हिन्दु धर्ममा आस्था राख्नेहरुले नेपाली पात्रो अनुसारकै दिनमा मान्न चाहना देखाउनुका साथै त्यसै अनुसार सहभागिता देखिएपछि यो निर्णयमा पुगेको जनाइएको छ ।
हिन्दु मन्दिरका प्रवक्ता सुमन कार्कीले अबदेखि नेपाली क्यालेण्डरलाई नै अनुसरण गरेर हिन्दु चाडपर्व मनाउने निर्णयमा हामी पुगेका छौँ भन्नुभयो । सन् २०१९ को बडादशैंदेखि अमेरिकाको लागि भनेर अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले धेरै चाडपर्व अघिल्लै दिन प्रकाशित गर्दै आएको छ । जसले गर्दा जनमानसमा द्विविधा हुनुका साथै मन खुकुलो मनाएर चाड मनाउन नपाएको व्यापक गुनासो आइरहेको थियो ।
नेपाली पात्रो र अमेरिकी क्यालेण्डर अनुसार दुई दिन पर्व राखिन्छ । यसले गर्दा अफिस छुट्टी लिनुपर्ने, स्कुल छुट्टी लिनुपर्ने बालबालिकाले कहिलेलाई भनेर लिने रु यसलाई तुरुन्त समाधान गरेर विगतमा जे थियो, त्यसैमा जानु हाम्रो कल्याण हुन्छ टाउनहल बैठकमा युलेस सिटीका मेयर प्रोटेम टीका पौडेलले निकै गम्भीर रुपमा धारणा राख्नुभएको थियो ।
गत हप्ता लिइएको पर्व कहिले मनाउने भन्ने सर्वेक्षणमा ६५ प्रतिशतले नेपाली पात्रो अनुसार गर्नुपर्ने सुझाव दिएका थिए । त्यस्तै २२ प्रतिशतले अमेरिकाको स्थानीय समय र तिथि अनुसार मनाउनुपर्ने र झण्डै १३ प्रतिशतले दुबै दिन मनाउँदा पनि हुने भनेर सुझाव दिएका थिए ।
अघिल्लो हप्ता शुक्रबार र शनिबार जनैपूर्णिमा मनाउने कार्यक्रम मन्दिरले राखेको थियो । शुक्रबार दुईसय जना पनि सहभागी भएनन्, जब कि शनिबार पाँच हजारभन्दा बढी व्यक्ति मन्दिरको कार्यक्रममा सहभागी भएका थिए ।
त्यस्तै हिजो शुक्रबार राखिएको कृष्णअष्टमीमा मन्दिरमा तीन दर्जन भक्तजनको पनि सहभागिता भएन । शनिबार राखिएको कृष्णजन्माष्टमीमा भव्य रथयात्रासहितको कार्यक्रम सम्पन्न भयो । श्रीकृष्ण प्रणामी समुदायले पनि हर्स्टस्थित प्रणामी मन्दिरमा शनिबार नै जन्माष्टमी मनाएको छ ।
शनिबार केन्द्रकी अध्यक्ष सीता सापकोटा बस्नेतको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले कोही भक्तजनलाई अमेरिकाको तिथि अनुसार पर्व मनाउन मन लागेमा मन्दिरले सेवा उपलब्ध गराउने निर्णय गरेको छ ।
मन्दिरले आधिकारिक रुपमा जनैपूर्णिमा, जन्माष्टमी, तीज, दशैंको घटस्थापना, टीका, तिहारका लक्ष्मीपूजा, भाइटीका, शिवरात्रिजस्ता तिथिका आधारमा मनाइने पर्वमा अब नेपाली क्यालेण्डरलाई आधार लिइनेछ ।
प्रतिक्रिया दिनुहोस्