३० भाद्र २०८२, सोमबार

एनआरएए आईसीसीले नवनिर्वाचित एनसीसीका पदाधिकारी तथा सदस्यहरूसँग अन्तरक्रिया गर्ने

कोलोराडोखबर संवाददाता , August 6th, 2025

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीले हालै निर्वाचित भएका विभिन्न देशका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का पदाधिकारी तथा सदस्यहरूसँग परिचयात्मक अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ ।

आईसीसीका प्रवक्ता फणिन्द्र पन्तका अनुसार अन्तरक्रिया कार्यक्रमको उद्देश्य एनसीसी प्रतिनिधिहरूबीच आपसी चिनजान गराउने, संघको वर्तमान गतिविधिबारे जानकारी दिनु तथा भावी कार्ययोजनाबारे छलफल गर्नु रहेको छ।

उक्त कार्यक्रम आगामी आइतबार, साउन २५ गते (१० अगस्ट २०२५) को दिन नेपाली समय अनुसार बेलुका ५स्०० बजे भर्चुअल माध्यममार्फत आयोजना गरिनेछ ।

कार्यक्रमको सञ्चालन महासचिव गौरीराज जोशीले गर्नेछन् भने संघका उपाध्यक्ष डा. हेमराज शर्माले एनआरएनएको वर्तमान अवस्था, वैधानिक व्यवस्था र भावी रणनीतिका बारेमा विशेष प्रस्तुति दिनेछन्। संघका अध्यक्ष डा. बद्री केसीसहित अन्य केन्द्रीय पदाधिकारीहरूले पनि कार्यक्रममा सम्बोधन गर्ने छन् ।

अन्तरक्रियामा विश्वभरबाट निर्वाचित भएका ५८ देशका एनसीसी प्रतिनिधि तथा कार्यसमितिका सदस्यहरूको सहभागी रहने अपेक्षा गरिएको छ।

यसैबीच, गैरआवासीय नेपाली संघले १२औं महाधिवेशन आगामी अक्टोबर दोस्रो साता काठमाडौंमा गर्ने तयारी गरेको छ । सो महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधिहरूको दर्ता प्रक्रिया साउन २५ गते (१० अगस्ट) बाट सुरु हुने संघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्