२१ भाद्र २०८२, शनिबार

विभिन्न व्यक्तित्वलाई राष्ट्रिय तथा प्रादेशिकसहितका पुरस्कार प्रदान

कोलोराडोखबर संवाददाता , July 17th, 2025

नेपाल । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०८१ सालको राष्ट्रिय तथा प्रादेशिकसहितका विभिन्न पुरस्कार प्रदान गरेको छ ।

मन्त्रालयद्वारा काठमाडौँस्थित राष्ट्रिय नाचघरमा बुधबार आयोजित कार्यक्रममा पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले पुरस्कार प्रदान गर्दै प्रतीकात्मक हिसाबले कार्यक्रम महत्वपूर्ण भएको बताउँदै भन्नुभयो, “२०५१–५२ सालपछि प्रारम्भ भएको राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार प्राप्त गर्न निकै ठुलो मेहनत पर्छ । सर्जकले जसरी आफ्ना सिर्जना विभिन्न विधामा जनमानसमा ल्याउनुहुन्छ, त्यही सिर्जनाका कारण उहाँहरूले जनमानसको मन जित्न सफल हुनुभएको छ ।”

कार्यक्रममा प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले वरिष्ठ व्यक्तित्वलाई पुरस्कार प्रदान गरेर पुरस्कारको गरिमा बढेको बताउनुभयो ।

कार्यक्रममा भाषा एवं साहित्यतर्फ अमृत योन्जन तामाङ, संस्कृतितर्फ डा. सोमबहादुर धिमाल, सङ्गीत नाट्यतर्फ राजेन्द्रबहादुर शाह र ललितकलातर्फ मुकेश मल्ललाई राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरियो ।

संस्कृतितर्फ प्रादेशिक प्रतिभा पुरस्कार कमलजङ्ग राई, शीतल गिरी, तारादेवी सुनुवार, भक्तिप्रसाद शर्मा, इद्रिस खाँ (इद्रिस सायल), मोतीराज बम र देवेन्द्रप्रसाद भट्टलाई प्रदान गरिएको थियो । सङ्गीत तथा नाट्यतर्फ प्रादेशिक प्रतिभा पुरस्कार विपिन पौडेल ‘किरण’, शिवशङ्कर रिजाल (जोगेन्द्र पानवाला), सुदेशराज शर्मा, दिया मास्के, उदिराम खड्का, तिलक परियार र प्रकाशबहादुर थापालाई प्रदान गरियो । त्यस्तै ललितकलातर्फ प्रादेशिक प्रतिभा पुरस्कार हिम्मतबहादुर लिम्बू नेम्वाङ, (मूर्तिकला), गीताकुमारी ठाकुर, (लोककला मिथिला), प्रमिला वज्राचार्य (चित्रकला), शशिध्वज तुलाचन (परम्परागत थाङ्का), हरिराम अधिकारी (मूर्तिकला), थेक्क्षोक तामाङ (चित्रकला, हस्तकला) र मित्थु चौधरी (चित्रकला, मूर्तिकला) लाई प्रदान गरियो ।

साहित्य विधातर्फ प्रादेशिक प्रतिभा पुरस्कार विमला तुम्खेवा, श्याम साह (श्यामसुन्दर साह), नर्मदेश्वरी सत्याल, मीनराज वसन्त (रेग्मी), भगवानदास यादव, समीर शाह (सल्यानी माइला) र नरेन्द्रप्रसाद भट्टलाई प्रदान गरियो ।

कार्यक्रममा महाकवि देवकोटा राष्ट्रिय पुरस्कारबाट कवि तीर्थ श्रेष्ठ, निबन्धकार लक्ष्मण गौतम, आख्यानकार नारायण ढकाल, बालसाहित्यकार कल्पना प्रधान र भाषासेवी रेशम घिमिरे ‘विरही’ पुरस्कृत हुनुभयो । आदिकवि भानुभक्त आचार्य राष्ट्रिय पुरस्कार प्राडा रामप्रसाद ज्ञवालीलाई पुरस्कृत गरियो । गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कारबाट कवि भरतबहादुर भण्डारी (सोझो गाउँले) र नाट्यकर्मी किरण राई (किरण चाम्लिङ राई) पुरस्कृत हुनुभयो ।

भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार मानबहादुर विश्वकर्मा, भीमकान्त (भागवत) पन्थी र ‘दलन’ टेलिशृङ्खला टिमलाई प्रदान गरिएको थियो । युगकवि सिद्धिचरण श्रेष्ठ राष्ट्रिय पुरस्कार प्राडा देवीप्रसाद नेपाललाई प्रदान गरियो । इतिहास शिरोमणि बाबुराम आचार्य राष्ट्रिय पुरस्कार संयुक्त अधिराज्य (बेलायत) निवासी संस्कृतिकर्मी डा. जोन ह्वेल्पटनलाई प्रदान गरियो ।

त्यस्तै शताब्दीपुरुष सत्यमोहन जोशी राष्ट्रिय पुरस्कार प्राडा वीणा पौड्याल र योगमाया राष्ट्रिय पुरस्कार उपन्यासकार डा. नीलम कार्की ‘निहारिका’ लाई प्रदान गरियो । पुरस्कृत सबैलाई नगद राशि र प्रमाणपत्र प्रदान गरियो । कार्यक्रममा मन्त्रालयको संस्कृति महाशाखा प्रमुख डा. सुरेशसुरस श्रेष्ठ, विमला तुम्खेवा, नर्मदेश्वरी सत्याल, राजेन्द्रबहादुर शाह र जोन ह्वेल्पटनले आआफ्नो मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्