२८ असार २०८२, शनिबार

कविता: भाषा

कोलोराडोखबर संवाददाता , July 12th, 2025

-सुदीपभद्र खनाल-
भाषाबाटै हृदयभरिको भावना खोल्छु मैले
भाषाबाटै भुवनभरि यो घोल्छु सद्भाव मैले
भाषाबाटै मृदु मृदुलता युक्त संसार हुन्छ
भाषाले नै भव मनुजता युक्त यो दिव्य हुन्छ

मेरो भाषा मसँग नभए बोल्छु के शव्द मैले
मेरो भाषा मसँग नभए बुझ्छु के भाव मैले
आफ्नै भाषा लय सुर गला गीत खोज्छन् सबैले
मेरो भाषा मसँग नभए बुझ्छु के सृष्टि मैले

भाषा बाँचोस् मसँग नभए लेखनी रोइदिन्छु
लेखी लेखी सरस कविता चित्त यो धोइदिन्छु
मेरो भाषा मसँग नभए बोल्छु बाँचेर के म
बाँचोस् भाषा युगयुग धरा धाममा फैलिऊँ म

भाषा हाम्रो अघि र पछि हो चेतना मोहनी हो
वाणी हो यो मधु धरधरा सभ्यता मूल धी हो
भाषानै हो परिचय विभा नाम हो सान हो यो
भाषा हाम्रो अखिल भवको सभ्यता प्राण हो यो

भाषा बाँचे हृदयतलमा देश बाँच्ने छ हाम्रो
माया गाँसी भुवनभरमै प्रीत गाँस्नेछ राम्रो
भाषाबाटै जनक पृथिवी बुद्द चिन्नेछ विश्व
भाषा बाँचे मुलुक रहला शुभ् होला भविष्य

-अमेरिका ।

प्रतिक्रिया दिनुहोस्