–आर.आर. चौलागाईं–
उसले घामलाई
झुल्किनबाट रोक्न खोज्यो
बटुलेर पतिङ्गरहरू
सल्काएर आगो
धुवाँ बनाएर कुइरीमण्डल पार्यो
तर घाम त
उसले पत्तै नपाई झुल्किसकेछ
र आकाशमा पुगिसकेछ ।
उसले नदीलाई
बग्नबाट छेक्न खोज्यो
खसालेर ढुङ्गाहरू
लगाएर गारो
बाँध बनाएर माथिसम्म ढाक्यो
तर नदी त
उसले थाहै नपाई हिँडिसकेछ
र फाँटमा पुगिसकेछ ।
उसले धेरैधेरै घामहरूलाई
धेरैधेरै नदीहरूलाई
यसरी नै रोक्न खोज्यो
यसरी नै छेक्न खोज्यो
तर घामहरू झुल्किरहे
नदीहरू बगिरहे ।
आज घामहरू
उज्यालोको कविता फिँजाइरहेछन्
आज नदीहरू
उन्मुक्तिको गीत गाइरहेछन् ।
-हेटौंडा, मकवानपुर ।
प्रतिक्रिया दिनुहोस्