२१ असार २०८२, शनिबार

कबिताः झोले

कोलोराडोखबर संवाददाता , July 5th, 2025

-सुदीपभद्र खनाल-
झोला बोक्नेलाई झोले भन्ने र मान्ने हो भने
झोले म पनि हूँ
फरक यत्ति हो
मैले बोकेको झोलामा
तिम्रो झोलामा जस्तो खोला छैन
पहेँलो धातु
किलोका किलो होइन
एकतोला
अझ एक लाल पनि छैन

हुनत मेरो झोला
घेरा फाटेको टोपी र
नौ ठाउँमा च्यातिएको धोती लगाउने
आम जनताको झोला हो
बिसे नगर्ची
र बिराज बखेतीहरूको झोला हो
योगमाया र यज्ञबहादुर थापाहरूको झोला हो
तिम्रो जस्तो टेबुलमुनिबाट बग्ने खोलामा
भेटिने ठुला माछाहरू रमाउने झोला होइन
देशकै विरूद्दमा
आफ्नै स्वार्थ सिद्दीहेतु
परायाको गोप्य विषय वस्तु बोक्ने झोला होइन
देश डुबाएर आफू सप्रने
घोटाला, ठेक्कापट्टा र गोप्य लेनदेनको
फेहरिस्त लुकाउने
कुनै बिचौलियाको झोला होइन
हुनत मेरो झोला पनि झोलानै हो

तर मेरो झोला
ठुलठुला हाकिम र चियाबगान बेच्नेहरूले
घुस खाएको पैसा ओसार्ने
चिल्लो विदेशी सुट्केशजस्तो झोला होइन
सरकारी जमीन हडप्ने
माफियाराज चलाउने र
आफ्नै घरमा सुतिरहेको
निरापराध मानिसलाई छप्काएर
लासको राजनीति र
आतङ्कको बोलकबोलबाट
कमाएको लागुऔषध ओसार्ने झोला होइन
निर्धा सोझालाई सपना देखाएर
रातारात कहिले शरणार्थी
र कहिले भिजिट भिसाको नाममा बेचेर
महल ठड्याउने र कुर्सी अड्याउनेहरूको
झोला होइन ।

प्रजातन्त्रको नाममा
गरिबको रगत पसिना पिएर
आफू र आफ्ना आफन्तहरूको मात्रै
गरिबी हटाउने
नेताको कपटी झोला होइन
नपत्याए खोलेर हेर
मेरो झोला
यसमा बदनियत पूर्वक पास गर्न खोजिएको
नागरिकता कानूनको मस्यौदा भेटिनेछैन
भेडा बेचेजस्तो विदेशमा बेच्न लागिएका नागरिकहरूको नक्कली नागरिकता र
पासपोर्ट भेटिने छैन
नियतपूर्वक लुकाइएको
बलत्कार गरेर मारी फालिएकी
चेलीको गोप्य सूचना भेटिने छैन
न भेटिनेछ कुनै खारेजीमा परेर
मन्त्रालयबाट हराएको योजनाको फाइल
न त भेटिन्छन् कुनै बेचिएका राता पासपोर्टहरू

मेरो झोलामा
भेटिन्छ त केवल रातो बाकसमा आउँदैगरेको
मानिसको नाम थर र घर ठेगाना
बिदेशमा बेचिएर फन्दामा परेकी
चेलीको दारुण चित्कारयुक्त आत्मकथा
अनि खोलाले खेत बगाएर मुग्लान भासिएको
मुग्लानेको रामकहानी
म यौटा आम मान्छे भएपनि
झोला बोकेपछि
हुनत म पनि झोले नै हूँ
तर यो झोला
तिम्रो जस्तो अरू कसैको नभै
मेरो आफ्नै हो
निर्धक्क यत्ति भन्न सक्छु
म तिमीलेजस्तो
स्वार्थकालागि
स्वाभीमान बेचेर
अर्काको झोला भिरेर
कहिल्यै उभिन्न
नपत्याए खोली हेर !

मेरो झोलामा
मेरो आफ्नै फाटेको एकजोर चप्पल
उध्रेर लगाउन नमिलेपछि
टालेको पुरानो चोली
मेरा बाले तिरेर पनि
अझै तिर्न बाँकी
साहूका ऋणको जाली तमसुक
मौका मिले विदेश हिँड्न बनाएको
मेरो आफ्नै सक्कली पासपोर्ट
र चुनावताका गाउँमा भेटिएको
नेपालको चुच्चेनक्सायुक्त
उज्यालो तस्वीर छ
के तिमी पनि
मेरैजस्तो झोला बोक्न तयार छौ ?

–अमेरिका ।

प्रतिक्रिया दिनुहोस्