२४ जेष्ठ २०८२, शनिबार

कविता: ऊ अर्थात्…

कोलोराडोखबर संवाददाता , June 7th, 2025

-आर.आर. चौलागाईं-
कहिले गधा भएर
अर्काको भारी ओसारिरह्यो
कहिले गोरू भएर
अर्काको खेत जोतिरह्यो
मान्छे भएर
एक निमेष पनि बाँचेन ऊ
जहिले पनि घोडा भएर
मात्र अर्कालाई बोकिरह्यो ।

अचेल अक्षरको थाकल बटुलेर
घर छाउन थालेको छ ऊ
अचेल शब्दको गैँती बोकेर
बाटो खन्न हिँडेको छ ऊ
फुक्का हुन पाएकोमा दङ्ग छ
फुरूङ्ङ छ दाम्लो छिनेकोमा
अचेल सपनामा पनि
कविता बरबराउन थालेको छ ऊ ।

भन्न सकिन्न भोलि के हुन्छ
माथि पुग्छ कि अथवा तल झर्छ ऊ
देवकोटा पागल भएको यो देशमा
गोकुल जोशी भोकभोकै मरेको यो चिहानमा
कुनै पनि बेला भुसुनाजस्तै
किचिक्क हुन सक्छ ऊ
अथवा खाली सिसी र पुरानो कागज भएर
कौडीको मोलमा पनि बिक्न सक्छ ऊ ।

-हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्