-धनराज गिरी-
— ” तिमी चिट चोर हौ?”
” होइन सर, गोल्ड मेडलिस्ट!एक कक्षादेखि मास्टरसम्म आफ्नो पालाको अर्को ” हिसिलायमीकान्त” खेर गएको ” अरुण तेस्रो” नेभर चीट सर,सारेर होइन,खारेर पढेको हो। हजुरको नाम सुनेको हो,अलि पछि परियो। हजुरसित पढ्ने इच्छा थियो। हजुर टाप!”
” भित्री इमानदार हौ?”
” सर,बेइमानी त हाम्रो सत्र पुस्तामा छैन, दुःख छ,तर इमान त्यागिन्न! इमानास्त्र नै मेरो परिवारको दिव्यास्त्र हो। हजुरको इमानको पनि चर्चा सुनेको छु! हजुर एक हक्की,बेखौफ साहित्यकार पनि,नमूनाको व्यक्तित्व! रे! भोग्न पाएको छैन।”
” मेरो कुरा छोड,म असल मान्छे होइन। आफूलाई सज्जन मानिन्छ? ”
” सर,हजुर खराबहरूको लागि असल होइन,मेरो लागि त आदर्श,शोध गरेको छु हजुरको बारेमा! म हजुरजस्तै एक सचेत असल नागरिक बन्ने कोसिसमा छु सर,विदेश गएर पनि फर्किएको। खोई सर,यहाँ त … फटाहा,खुराफाती,चीट चोर,खोस्टोधारीहरूकै रजगज पाइयो। ”
” सरल,सज्जन,इमानदार र योग्य मानिन्छ त आफूलाई ?”
” पक्का नि सर, आफ्नो विषयमा अर्को रत्नमान डङ्गोल गुरुदेव,अर्को श्रीधर लोहनी गुरुदेव, अर्को जीडी पन्त,अर्को ” धनराज गिरी ऊर्फ प्रोफेसर दिग्गजनारायण आशुतोष गौतमोपाध्याय तथ्यांकश्री ” नि,म आजको ” रणवीर कपूर!” लाज लाग्यो,आफ्नै बारेमा यसो भन्दा। सरी सर! ”
” सज्जनले भन्ने नै ” सरी ” हो, निर्दोष हुनु नै दोषी हुनु हो। अब मन दह्रो गर,है?एउटा तीतो कुरा भन्छु!है?”
” हुन्छ,गुरु बा,कति तीतो होला र,सुन्छु।सहन्छु। ”
” यो समाजमा,यो देशमा,नेपालमा,सतीको श्राप अझै डेट एक्स्पायएर भएको छैन। तिमीले पनि अझै दुःख पाउने,तनावहरू बेहोर्ने पक्का! म त तिम्रो पितामह ग्रीष्म, तिम्रो अग्निपरीक्षा शुभारम्भ भयो बबुवा! ”
” त्यस्तै लाग्यो गुरुदेव,हजुर बा!सहन्छु! ”
दुई युगको वार्ता हो,यो,प्रतिनिधि वार्ता,प्रोफेसर ” अग्निनारायण ज्वालामुखी शीतल समीरोपाध्याय आनन्द रत्नश्री,र उनको चेलो विजयचन्द्र घिमिरेको पनि चेलो विजयराज कनकोपाध्याय रविभक्त हरिपुरे, गोल्ड मेडलिस्टको बीचमा। ” गुरुदेव, मेरा पितामह, भूल भएछ, बालकृष्ण ढकालपथगामी हुनुपर्नेरहेछ। यो चाइनिज मालको बजारमा जापानीज मालको काम रहेन छ। रवि,रवि देख्छु,तर ” गौतम होइन तम ” मात्र जताततै।जति दीपक बाले पनि ” उज्यालो औंसी ” त भीमानमा मात्र,सुभाषकान्ताको मगजको उपज मात्र, सूर्यपुरबाट रविलोक आइयो,घण्टी बजाइयो,के बजाउनु,घण्टीमा रालो नै रहेन छ। वाक्क,दिक्क,प्याक्क,गुरुदेव! सकारात्मक हुन लाख प्रयत्न गरियो,के सक्नु !? दुःख पाइयो गुरुदेव ! अब हजुरको मलेसियन जेठा सुमेधाश्रीलाई भेट्छु। हस् पितामह,आजलाई नमन ! स्वर्णिम युग कल्पना मात्र भयो। जय नेपालको न्यानो लाल सलाम,हजुर बा!” विजयराज ।
” आशीर्वाद बबुवा,तर हरेस खाने होइन नि! नयाँ दिन आउने छ,हो,नाति,त्यो दिन आउने छ। रिमालको दिन, आमाले देखेको सपनाको दिन,म शेर लेख्छु, तिम्रो आरजू पूरा हुन्छ,विश्वले गर्व गर्ने नर बन्ने पक्का! विजयी भव वत्स! मिसन शय,इमानको जय!” प्रोफेसर । कथा सकियो ।
-चितवन ।
प्रतिक्रिया दिनुहोस्