२ जेष्ठ २०८२, शुक्रबार

हास्यव्यंग्यकार चट्याङ मास्टर र सुबोध गौतम सम्मानित

कोलोराडोखबर संवाददाता , May 5th, 2025

नेपाल । सिस्नुपानी नेपाल मकवानपुरले दुईजना हास्यव्यंग्यकारलाई सम्मान गरेको छ । सिस्नुपानीको २५औँ स्थापना दिवसको अवसरमा शनिबार दुईजना हास्यव्यंग्यकारलाई सम्मान गरिएको हो ।

स्थापना दिवसको अवसरमा सिस्नुपानी नेपालका संस्थापक अध्यक्ष कृष्णमुरारी गौतम (चट्याङ मास्टर) लाई २५ हजार रुपैयाँ नगदसहित गणेश कुमार पौडेल स्मृति हास्यव्यंग्य सम्मान प्रदान गरिएको छ ।

यस्तै युवा हास्यव्यंग्यकार सुबोध गौतमलाई २० हजार रुपैयाँ नगदसहित आरसी रिजाल हास्यव्यंग्य सम्मान प्रदान गरिएको छ । कार्यक्रममा सिस्नुपानी नेपालका मकवानपुरका संस्थापक आरसी रिजालको प्रमुख आतिथ्य तथा अध्यक्ष पौडेलको सभाध्यक्षतामा भएको थियो ।

सम्मान ग्रहणपछि चट्याङ मास्टर र सुवोध गौतमले हास्यव्यंग्य प्रस्तुत गर्नुभएको थियो । यस्तै कार्यक्रममा राधा पौडेल, निवर्तमान अध्यक्ष राजकुमार लामिछाने, सर्जक सञ्जाल मकवानपुरका संयोजक डा. निमेष निखिलको पनि आतिथ्य रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य सिनुपानी मकवानपुरकी कोषाध्यक्ष सुभद्रा हुमागाईले गर्नु भएको थियो ।

कार्यक्रममा सुमार्गी हुमागाईले प्रहसन प्रस्तुत गर्नुभयो भने गोविन्द पौडेल र अनिल पौडेलले कविता वाचन गर्नुभयो ।

यता, बुढ्यौली साहित्य समाजले स्थापना गरेको अक्षयकोषमा समीर थापाले एक लाख रुपैयाँ र इशारा भुजेलले २५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । बुढ्यौली साहित्य समाजले शनिबार हेटौँडामा आयोजना गरेको एक कार्यक्रममा साहित्यकार स्व. तुल्सी थापाका छोरा समीर र नातिनी इशाराले अक्षयकोषमा सहयोग गर्नुभएको हो ।

बुढ्यौली साहित्य समाजले स्व। तुल्सी थापाको स्मृतिमा पुरस्कार स्थापना गरेको छ । शनिबार १ लाख २५ हजार रुपैयाँ प्राप्त भएसँगै कोषमा १८ लाख ७५ हजार रुपैयाँ जम्मा भएको बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष आरसी रिजालले जानकारी दिनुभयो । बुढ्यौली साहित्य समाजले स्व. तुल्सी थापाका अप्रकाशित रचना प्रकाशन गर्ने योजना बनाएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्