कविताः लय खोज्दैछु…
– राम उदित–
हिँड्दाहिँड्दै बिझाउन थालेको छन्
यी गोरेटाहरू
कताकता उछिट्टिन थालेका छन् पैतालाहरू
कताकता छरपस्टिन खोजेका छन्
अस्मेल भावका तरङ्गहरू
छताछुल्ल मनलाग्दी बगिरहेछन् रङ्गहरू
क्यानभासको पृष्ठभूमिभरि
आफैँलाई तर्साउन खोजिरहेछ
यो बन्दै गरेको चित्र १
रेटिएर सारङ्गीको मुटु
खण्डित छ सारेगमको राग
बादलमा बन्दै भत्कदैँ गरेको छ
सपनाहरूको क्यानभास
आँखाहरूको ऐनामा
धुमिल धुमिल देखिदैँछ
जीवनास्तित्वको छाँया ।
***
यसरी टुटेर लयहरू
म बहुलाएको बतास भएको छ
भत्केपछि धैर्यताका बाँधहरू
म वनको डढेलो भएको छु
भास्सिँदै गएपछि टेकेर
म उभिएको विश्वासको धरातल
म उदाङ्ग पहिरो
गएको पहाड भएको छु
मायाले
हुर्काएका विरुवामा अनायासै
पलाउन थालेपछि ऐँजेरु
यतिन्जेल
विश्वास गरेका अनुहारहरू
एकाएक बद्लिन थालेपछि
जुडासहरूमा
...









