‘शहीदहरूको रगतले लेखेको संविधान, हामी कामले पूरा गर्छौँं’
संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को मूल समारोहमा सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले गर्नुभएको सम्बोधन :
सम्माननीय राष्ट्रपतिज्यू,
सम्माननीय उपराष्ट्रपतिज्यू,
सम्माननीय प्रधानन्यायाधीशज्यू,
सम्माननीय सभामुखज्यू,
राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू,
माननीय मन्त्रीहरू,
माननीयहरू,
स्थानीय तहका प्रमुखहरू,
उपस्थित विशिष्ट व्यक्तित्व,
कुटनीतिक नियोगका प्रमुखहरू,
स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू ।
नेपालको राजनीतिक व्यवस्थाको परिवर्तन र सुशासनको माग गरी गरिएका आन्दोलनमा आफ्नो ज्यान आहुती गर्ने सम्पूर्ण ज्ञात -अज्ञात शहीदहरू तथा ऐतिहासिक जेनजी आन्दोलनमा सहादत प्राप्त गर्नुभएका जेनजी सुशासन योद्धाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । साथै, हालै आएको रसुवा -भोटेकोशी बाढीमा परी मृत्यु भएका सबै स्वदेशी तथा विदेशी नागरिकप्...








