उज्यालोको पर्व आउन केही बाँकी छँदै गुञ्जिन थाले तिहारका गीत
काठमाडौँ । उज्यालोको पर्व तिहार आउन केही दिन मात्र बाँकी छ । घर उज्यालो पार्नुका साथै देउसी र भैलो खेलेर मनाइने यो पर्वमा गुञ्जिने गीतमा अधिकांश नेपाली चलचित्रका हुने गर्दछन् । कालजयी ती गीत अहिलेको पुस्तामा पनि उत्तिकै लोकप्रिय छन् । तिहारको प्रसङ्ग नेपाली चलचित्रमा राखिनुका साथै गीतसङ्गीतमा पनि समेटिएका छन् ।
चलचित्र ‘स्वर्ग’ मा समावेश ‘तिहारै आयो लौ झिलिमिली’ यो गीत सुनेपछि तिहार आएको आभास हुन्छ । यो गीत तिहारमा गाउँदेखि सहरसम्म गुञ्जिने गर्छ । पच्चीस वर्षदेखि यो गीत सबैको रोजाइमा परिरहेको छ । अभिनेता शिव श्रेष्ठ र अभिनेत्री गौरी मल्ल प्रस्तुत हुनुभएको गीतमा लोचन भट्टराई र नुतन प्रधानले स्वर दिनुभएको छ । यादव खरेलले रचना गर्नुभएको गीतमा शम्भुजित बाँस्कोटाले सङ्गीत सिर्जना गर्नुभएको छ ।
‘दियो बाली साँझको’ गीत पनि तिहारको समयमा उत्तिकै लोकप्रिय हुने गर्दछ । चलचित्र ‘चिनो’ मा समावेश ...


