१ असार २०८२, आईतवार

न्यूयोर्कमा ग्लोबल नेपाली फिल्म अवार्ड भव्यताका साथ सम्पन्न (फोटो फिचरसहित)

कोलोराडोखबर संवाददाता , September 19th, 2024

न्यूयोर्क । सेप्टेम्बर १५ आइतबारका दिन अमेरिकाको न्यूयोर्कमा ७औँ ‘एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२४’ भव्यताका साथ सम्पन्न भएको छ ।

नेपाल फिल्म सोसाइटी नेपाल, ग्लोबल नेपाली फिल्म अवार्ड यूएसए, त्रिवेणी इन्टरटेनमेन्ट यूएसए र दिलकुमारी फाउन्डेशनको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । उक्त कार्यक्रम यो पटक अमेरिकाको न्यूयोर्क राज्यको क्विन्स शहरको मेलरोज बलरुममा भव्यताका साथ सम्पन्न भएको थियो ।

कार्यक्रममा वरिष्ठ कलाकार भुवन चन्द र बसुन्धरा भुसाललाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो । त्यस्तै जीएनएफ एक्सिलेन्स अवार्ड वरिष्ठ नायिका करिष्मा मानन्धर र स्टार अफ द अवार्ड नायिका केकी अधिकारीलाई प्रदान गरिएको थियो ।

यसैगरी जुरी अवार्ड चलचित्र टुल्की तथा बगान चलचित्रबाट वरिष्ठ नायक सरोज खनाल र वरिष्ठ नायिका करिस्मा मानन्धरलाई प्रदान गरियो । यता अभियानश्री अवार्ड अन्तराष्ट्रिय मोडल अङतेम्बा शेर्पा, प्राध्यापक अनु शाह, गायक नन्दकृष्ण जोशी र अन्तराष्ट्रिय वकिल खगेन्द्र जिसीलाई प्रदान गरियो ।

यसैबीच ज्ञानेन्द्र धिमाल स्मृति सम्मान हास्य कलाकार महादेव त्रिपाठी र रामकेशर बोगटी स्मृति सम्मान डा. घनश्याम खतिवडालाई प्रदान गरियो । त्यस्तै फिल्म अफ दी इयर भष्मे डन, डिरेक्टर अफ दी इयर दिपेन्द्र के खनाल, एक्टर अफ दी इयर दयाहाङ राई, सुरक्षा पन्त, एक्टर इन कमेडी रोल केदार घिमिरे, एक्टर इन नेगेटिभ रोल प्रशान्त ताम्राकार र फिल्म अफ दी इयर डायस्पोरा अवार्ड चलचित्र बगानलाई प्रदान गरियो ।

यसैगरी एनएफएस फेलिसिटेशन अवार्ड निर्देशक अनिल संग्रौला, सुमन दाहाल, विधान कार्की, मिडिया पर्सन सूर्य चन्द, कलाकार सञ्जय खतिवडा, कोरियोग्राफर शंकर बीसी, गायिका मिना निरौला, गायक यम बराल, कलाकार सन्दीप क्षेत्री, कोरियोग्राफर गोबिन्द राइ, कलाकार ऋचा घिमिरे र मोडल जुब्ली शेर्पालाई प्रदान गरियो ।

कार्यक्रममा स्पेशल एप्रिसियशन अवार्ड सुनिल पाठक र शाह नवाज (गोल्डेन एज होम केयर) लाई प्रदान गरिएको थियो । त्यसैगरी स्पेशल एप्रिसियशन अवार्ड पाउनेहरुमा निशान घिमिरे (सम्पादक), शैलेश श्रेष्ठ (अध्यक्ष, ड्रिम्स यूनिभर्सल), झरना अधिकारी (आउटस्ट्याण्डिङ जर्नालिष्ट), वीरेन्द्र हमाल (वरिष्ठ कलाकार), शिव श्रेष्ठ (समाजसेवी) र यम बराल (गायक)  रहनु भएको छ ।

उक्त कार्यक्रममा नेपालसहित विदेशमा रहेका नेपाली कलाकारहरुको पनि उपस्थिति रहेको थियो । विदेशमा रहेका नेपाली कलाकारहरु गोपालचन्द्र लामिछाने (निर्देशक), राहुल केसी (नायक तथा अध्यक्ष इनास अमेरिका), बिक्रान्त बस्नेत (नायक), प्रवेश उप्रेती पावल (नायक), विश्व पौडेल (निर्माता), सुन्दर श्रेष्ठ (नायक), राजीव श्रेष्ठ (फोटोग्राफर), कृष्ण थापा (नायक), खेम शर्मा (हास्य कलाकार), अञ्जु थापा (आर्टिष्ट/प्रोड्यूशर) र लायरा घिमिरे (कलाकार) को पनि उपस्थिति थियो ।

वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अवार्ड निर्णायक समितिमा रवीन्द्र खड्काले संयोजकको भूमिका निर्वाह गर्नु भएको थियो भने सदस्यहरूमा शर्मिला मल्ल, नारायण प्रधान, मोहन के. श्रेष्ठ, र दुर्गा बिशुराल रहनु भएको थियो । उक्त भव्य कार्यक्रम चर्चित कार्यक्रम सञ्चालकहरु निशा पाठक र सन्दीप क्षेत्रीले सञ्चालन गर्नु भएको थियो ।

‘नेपाली फिल्म भिलेज टु ग्लोबल’ भन्ने नारासहित फिल्मकर्मीलाई सम्मान, पुरस्कार र प्रोत्साहन गर्ने हेतुले विगतदेखिनै आयोजना हुँदै आएको अवार्डले यसवर्ष पनि निरन्तरता पाएको नेपाल फिल्म सोसाइटीका केन्द्रीय अध्यक्ष कृष्ण मल्लले बताउनु भयो ।

संसारभर छरिएर बसेका नेपाली चलचित्रकर्मी तथा कलाकारहरूलाई एउटै स्थानमा जमघट गराएर नेपाली मौलिक कला, संस्कृतिलाई संसारभर परिचित गराउने उद्देश्य अवार्डको रहेको उहाँले बताउनु भयो ।

नायक नवराज श्रेष्ठ, (अध्यक्ष, ग्लोबल नेपाली फिल्म अवार्ड यूएसए)

विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि कार्यक्रम भव्यताका साथ सम्पन्न भएको ग्लोबल नेपाली फिल्म अवार्ड यूएसएको अध्यक्षमा नायक नवराज श्रेष्ठले बताउनु भयो । कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने सबैलाई उहाँले धन्यबाद ज्ञापन गर्नु भयो । उक्त कार्यक्रममा त्रिवेणी इन्टरटेनमेन्ट यूएसए र दिलकुमारी फाउन्डेशनका नवराज केसी र खाम भट्टको व्यवस्थापन रहेको थियो ।

‘आफ्नै नाम, आफ्नै शान, आफ्नै पहिचानः गाउँदेखि विश्वबजारसम्म’को नारा लिएर ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ चलचित्रकर्मीको प्रोत्साहन र सम्मानको लागि सन् २०१६ देखि नियमित आयोजना हुँदै आएको छ । अवार्डका अघिल्ला ६ संस्करणहरू कोलोराडो, सनफ्रान्सिस्को र न्यूयोर्क शहरमा सफलतापूर्वक सम्पन्न भएका थिए ।

यो पटक गोल्डेन एज होम केयर र एटिए एभरेष्ट ग्रुपको मुख्य प्रायोजन तथा सुनिल पाठक एजेण्ट अल स्टेट इन्स्युरेन्स कम्पनी तथा Rashmi Couture डिजाइनको सह-प्रयोजन रहेको थियो ।  www.coloradokhabar.com पनि उक्त कार्यक्रमको मिडिया पार्टनर रहेको थियो ।

नेपाली कलाकारहरु न्यूयोर्कमा, आइतबार ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रम हुँदै

न्यूयोर्कमा ग्लोबल नेपाली फिल्म अवार्डको तयारी पूरा, कलाकारहरुको भव्य जमघट

अमेरिकाको न्यूयोर्कमा ग्लोबल नेपाली फिल्म अवार्ड हुँदै, तयारी अन्तिम चरणमा

अमेरिकाको न्यूयोर्कमा हुने ‘सातौँ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’ को तयारी तीब्र

अमेरिकाको न्यूयोर्कमा १५ सेप्टेम्बरमा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै

प्रतिक्रिया दिनुहोस्