नेपाल । सोमबार निजी क्षेत्रको लगानीमा निर्माण बनेको पहिलो नेपाली फिल्म ‘माइतीघर’का अभिनेता सीपी लोहनीको निधन भएको छ ।
उनको ८६ वर्षको उमेरमा काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो हस्पिटलमा उपचारको क्रममा दिउँसो साढे १ बजे निधन भएको हो । उनी लामो समयदेखि पार्किन्सन तथा अलजाइमरको समस्याबाट ग्रसित थिए । निमोनियाको संक्रमण देखिएपछि उनलाई केही दिनअघि अस्पताल भर्ना गरिएको थियो ।
उनको पशुपति आर्यघाटमा सोमबार नै अन्त्येष्टि गरिएको छ ।
सीपी लोहनीको वास्तविक नाम भने चिदम्बर प्रसाद हो । उनी अभिनेतासँगै गायक पनि हुन् । उनी स्वर्गीय गायक तथा संगीतकार नातिकाजीका समकालीन हुन् । उनको स्वरमा ‘आँखामा तिम्रो’, ‘काला कुर्तैले’, ‘उँभोमा झर्ने’, ‘एउटा तारा झर्दा’ जस्ता एक दर्जन हाराहारी गीत छन् । झ्याउरे गीतबारे विशेष दख्खल राख्ने उनको पछिल्लो एल्बम ‘पुनरागमन’ थियो । लोहनी काठमाडौंको डिल्लीबजारमा बस्दै आएका थिए ।
सन् १९६६ मा रिलिज भएको ‘माइतीघर’मा काम गर्ने क्रममा लोहनीको चर्चित बलिउड अभिनेत्री माला सिन्हासँग प्रेम बसेको थियो । उनीहरुले विवाह गरेका थिए । उनीहरुका एक छोरी प्रतिभा सिन्हा छिन् । लोहनीले ‘माइतीघर’पछि भने अरु फिल्ममा काम गरेनन् । यसमा उनको पार्श्व गायन समेत थियो ।
प्रतिक्रिया दिनुहोस्