२२ माघ २०८२, बिहीबार

नयाँ कांग्रेसले पुरानो कांग्रेसका सकारात्मक पक्षलाई आत्मसात् गर्दै कमजोरी त्यागेको छः सभापति थापा

कोलोराडोखबर संवाददाता , February 5th, 2026

नेपाल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको पुनर्संरचना सम्पन्न भइसकेको दाबी गर्दै बदलिएको कांग्रेसमार्फत देशको शासन प्रणाली र राजनीतिक अभ्यास नै परिवर्तन गरिने बताएका छन् ।

सभापति थापाले बुधबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियो सन्देशमा नेपाली कांग्रेस अब ‘कांग्रेस २.०’ को चरणमा प्रवेश गरेको बताएका छन् । उनले नयाँ कांग्रेसले पुरानो कांग्रेसका सकारात्मक पक्षलाई आत्मसात् गर्दै कमजोरी त्यागेको दाबी गरेका छन् ।

थापाले नेपाली कांग्रेसलाई देश परिवर्तन गर्ने माध्यमका रूपमा प्रस्तुत गर्दै पार्टीलाई एउटा ‘एजेन्सी’को संज्ञा दिएका छन् । यही एजेन्सी प्रयोग गरेर नेपाल बदल्ने साझा सपना पूरा गर्न चाहेको उनको भनाइ छ ।

देश गम्भीर मोडमा रहेको उल्लेख गर्दै उनले अहिलेको अवस्था सम्हाल्न नसके थप संकटतर्फ धकेलिन सक्ने चेतावनी पनि दिएका छन् । बदलिएको कांग्रेसले देशलाई थप ध्वंशमा जान नदिने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

सभापति थापाले कांग्रेसले उत्तेजना र घृणाको राजनीति नगर्ने स्पष्ट पारेका छन् । सबैलाई समेटेर अघि बढ्ने र विभाजनको राजनीति अन्त्य गर्ने उनको भनाइ छ ।

उनले नेपालको विद्यमान शासन शैली, सोच र कार्यगतिलाई सुधार्ने एजेण्डासहित कांग्रेस अघि बढेको बताएका छन् । केवल मिलाउने होइन, व्यवस्थामै सुधार गर्ने लक्ष्य पार्टीको रहेको उनले उल्लेख गरेका छन् ।

भिडियो सन्देशमार्फत थापाले युवालाई केवल भविष्यको आशा नभई वर्तमानका साझेदारका रूपमा अघि आउन आह्वान गरेका छन् । युवासँगै हिँडेर राजनीतिक र संरचनागत परिवर्तन सम्भव हुने उनको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्