नेपाल । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्दै छ । कांग्रेसका सचिव प्रकाश शर्माका अनुसार पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने भएको हो ।
कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्य पहिलो पटक केन्द्रीय कार्यालय सानेपा पुग्नुहुने छ ।
उपसभापति पुष्पा भुसालले सभापति गगनकुमार थापासहित पदाधिकारीले पदभार ग्रहण गरेपछि बैठक बस्ने बताउनुभयो । उहाँका अनुसार फागुन २१ गते तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने प्रस्ताव बैठकमा प्रस्तुत हुने छ । उहाँले निर्वाचन अभियानसँग सम्बन्धित समिति गठन गर्ने र समसामयिक राजनीतिक सन्दर्भमा पनि छलफल हुने बताउनुभयो ।
यता, नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले राजीनामा दिनुभएको छ । उहाँलाई पूर्वसभापति शेरबहादुर देउवाले १३ औँ महाधिवेशनमा नेतृत्वमा निर्वाचित भएपछि पार्टीको मुख्य सचिव पदमा नियुक्त गर्नुभएको थियो ।
राष्ट्रिय सभा सदस्य पौडेलले पार्टीको मुख्य सचिवबाट बिहीबार राजीनामा दिनुभएको हो । उहाँले मुख्य सचिवबाट राजीनामा दिए पनि कांग्रेस पार्टीमा निरन्तर क्रियाशील रहने प्रस्ट पार्नुभयो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्