३ पुष २०८२, बिहीबार

खगेन्द्रप्रसाद र रूद्रकली नामका हात्ती कतार पठाइयो

कोलोराडोखबर संवाददाता , December 18th, 2025

नेपाल । नेपालका दुई हात्तीलाई कतार पठाइएको छ । चितवनको सौराहाबाट रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याई यहाँबाट दुई हात्ती खगेन्द्रप्रसाद र रुद्रकलीलाई बुधबार विमानमार्फत कतार पठाइएको हो ।

यसअघि सरकारले कतारलाई उपहार दिन भन्दै दुई वटा हात्तीको चितवनस्थित सौराहामा सोमबार एक कार्यक्रमका साथ बिदाई गरिएको थियो । यी दुवै हात्तीहरू रूद्रकली र खगेन्द्रप्रसाद सरकारले उपहार स्वरूप कतारलाई दिएको हो ।

हात्तीहरूलाई वैदिक विधिअनुसार पूजा गरेर फूलमाला लगाई फलफूल खुवाएर बिदाइ गरिएको थियो । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्त लगायतले हात्तीलाई माला लगाइदिएका थिए ।

२०८१ वैशाख ११ र १२ गते कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमण क्रममा सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने निर्णय गरेको थियो ।

सोहीअनुसार हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसोरमा हुर्किएर तालिम पाएकी सात वर्षकी रूद्रकली र ६ वर्षको खगेन्द्रप्रसादलाई उपहार स्वरुप कतार पठाइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा पन्तले जानकारी दिए ।

हात्तीहरूलाई बुधबार भैरहवा विमानस्थलबाट पशु सेवा प्राविधिक र दुई जना माउतेहरूसहित चार्टर्ड विमानमार्फत कतार पठाइएको हो । औपचारिक रूपमा भैरहवा विमानस्थलबाट नै कतार सरकारलाई हात्ती हस्तान्तरण गरिएको हो ।

नेपालले पहिलो पटक अन्य देशलाई हात्ती उपहार दिएको हो । कतारले चार्टर विमानमार्फत खोरसहित हात्तीहरूलाई कतार लगेको हो । रूद्रकलीका माउते बुद्धिलाल श्रेष्ठ र खगेन्द्रप्रसादका माउते पाचुखा थारू पनि कतार गएका छन् । उनीहरूले त्यहाँ एक महिना बसेर हात्तीको स्याहार र त्यहाँका कर्मचारीलाई तालिम दिने डा पन्तले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्