१८ कार्तिक २०८२, मंगलवार

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पुनः सुरु हुँदै

कोलोराडोखबर संवाददाता , November 4th, 2025

नेपाल । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक मंगलबारबाट पुनः सुरु हुने भएको छ।

सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले आजबाट केन्द्रीय समितिको बैठक पुनः सुरु गर्ने निर्णय गरेको हो । बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा संस्थापन र इतर दुवै पक्षले धारणाका रूपमा महाधिवेशनको कार्यतालिका प्रस्ताव गर्ने नेताहरूले बताएका छन्। सोमबार बसेको कार्यसम्पादनको बैठकमा यस्तो सहमति भएको थियो ।

महाधिवेशनका विषयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस मसान्त र संस्थापन पक्षका तर्फबाट वैशाखमा महाधिवेशन गर्ने अडान कायम राखेका छन् ।

आजको बैठकमा महामन्त्री थापाले बैठकमा धारणाका रूपमा पुस मसान्तका लागि महाधिवेशन प्रस्ताव गर्नेछन् ।

संस्थापन पक्षले पनि धारणाकै रुपमा वैशाखमा महाधिवेशन प्रस्ताव गर्नेछ । त्यसमा दुवै पक्षले कार्यतालिका र औचित्यमा पनि धारणा राखेपछि छलफल अघि बढाउने तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्