२२ मंसिर २०८१, शनिबार

सूत्रकथाः गणतन्त्र

कोलोराडोखबर संवाददाता , February 3rd, 2024

–एसके ज्ञवाली–
उकालो चढ्दै गर्दा थाक्यो क्यारे , पिठ्युँको भारी चौतारोमा बिसाउदै सुईईईइय्य्य सुसेल्यो । एकैछिनको फुर्सदमा शाही सेनाले आतंककारी भन्दै घरकै बलेसिमा गोलि ठोकेको जेठो छोरो सम्झ्यो । जनसेनाले सुराकी भन्दै आखै अगाडि गला रेटिदिएको राष्ट्रसेवक कान्छो छोरो सम्झ्यो ।

पुत्रशोकको पीडा सहन नसकी घरकै बलेसिमा झुन्डिएर आत्महत्या गरेकी बुढी ससम्झ्यो । सम्झनाको तरेली तन्किदै गयो । सानैमा हैजाले हरेकी बहिनी सम्झ्यो ।प्रसव पीडाले गुमाएकी कान्छी बुहारी सम्झ्यो। स्कुल जादा तुईनको लाठी चुडेर खोलामा कसेको जेठी पट्टीको नाति सम्झ्यो।

कल्प्योः
अधिया पालेको सेती बार्खिले यसपटक पनि जुम्ल्याहा पाठो पाओस। माली बाच्छी घोर्ले भएको छ ,अब बाच्छो खोज्छ कि !

उसले फेरि सम्झियोः
–बिहान तीन, दिउसो चार र बेलुकिको यो सहित गरि जम्मा नौ भारी भो ,नौ चालिसा तीन सय साठी । उसले मनमनै गुन्यो–‘आजको पैसाले नातिनिहरुलाई कापी कलम किनिदिन्छु र बाँकी पैसाको एक पाउ मासु लगेर खुवाउछु । यस्तो चिसो छ खाउन ।’

नातिनीहरुले मासुको झोलसङ्ग सपक्क सपक्क भात खाएको सम्झ्यो र मुसुक्क हास्यो । अनि नाम्ले डामपरेको थाप्लोमा डोकोको लाम्लो लगाउदै लामो सुस्केर्यो–

ओ सिद्धार्थ गौतम !
आज मेरो ठाउँमा तिमी भैदिएको भए के गर्थ्यौ ? बुद्ध बन्न निस्किन्थ्यौ कि आत्महत्या ?

–हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्