नेपाल । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पत्रकार तथा सञ्चारकर्मीमाथि भएको धरपकड, सोधपुछ र पक्राउका घटनाहरूमाथि गम्भीर ध्यानाकर्षण जनाउँदै दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ।
शनिबार पार्टी केन्द्रीय कार्यालय चमतीमा बसेको सचिवालय बैठकले समाचार कक्ष मै प्रवेश गरेर सञ्चारकर्मीमाथि गरिएको धरपकडको भर्त्सना गर्दै यस विषयमा निष्पक्ष छानबिन गर्न माग गरेको हो।
बैठकका निर्णय सार्वजनिक गर्दै पार्टी प्रवक्ता जगदीश खरेलले समाचार लेखेकै भरमा पत्रकारमाथि यस किसिमको हर्कत हुनु निन्दनीय भएको स्पष्ट पार्दै घटनामा संलग्नहरूलाई कारबाही गर्न ढिलासुस्ती नगर्न आग्रह गरे।
रास्वपा संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, विधिको शासन र मानव अधिकारप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रवक्ता खरेलले प्रेस स्वतन्त्रतासँग कुनै सम्झौता नहुने बताए।
पार्टी आफ्नै नेतृत्वमा सरकारमा रहेकाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति गर्ने मुख्य जिम्मेवारी सरकारको भएको उनले औँल्याए। प्रधानमन्त्री कार्यालयले यस्ता घटनामा आफ्नो संलग्नता अस्वीकार गरिरहेको सन्दर्भमा वास्तविकता बाहिर ल्याउन र आगामी दिनमा सञ्चारमाध्यमले निर्वाध रूपमा काम गर्न पाउने सुरक्षित वातावरण सुनिश्चित गर्न रास्वपाले सरकारसँग जोडदार माग गरेको छ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्