१५ कार्तिक २०८३, आईतवार

नेपाल सम्वत् ११४७ का अवसरमा कोलोराडो नेवाःखलः ले दुई पुरस्कार प्रदान गर्दै

कोलोराडोखबर संवाददाता , November 1st, 2026

कोलोराडो (अमेरीका) । नयाँ वर्ष नेपाल सम्वत् ११४७ को अवसरमा नेवाः खलः कोलोराडोले अन्तरराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टर र पूर्व प्राध्यापक, साहित्यकार तथा समाजसेवी डा. विजयराज शर्मालाई पुरस्कृत गर्ने भएको छ ।

आगामी नोभेम्बर १४ तारिक शनिबार नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा आयोजना गर्न लागेको न्हूदँया भिन्तुना कार्यक्रममा उक्त पुरस्कार बितरण गर्ने बताइएको छ ।

संस्थाले नेपाल सम्बत् ११४७ को अवसर पारेर “कोलोराडो नेवाः खलः शंखधर साख्वा सिरपा (पुरस्कार) ११४६” अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरलाई र “कोलोराडो नेवाः खलः शताब्दी पुरुष सत्यमोहन जोशी सिरपा (पुरस्कार) डा. विजयराज शर्मालाई प्रदान गर्न लागेको हो ।

प्रवासमा नेपाली भाषा , साहित्य संस्कृतिको संरक्षण तथा सम्बर्धनमा निरन्तर क्रियाशील रहेको र यसै बर्ष कोलोराडोमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन आयोजना गरी कोलोराडोको पहिचान विश्वभर रहेका नेपालीमाझ पुर्याउन सफल भएको भन्दै यस बर्षको कोलोराडो नेवाः खलः नेपाल संम्वत प्रवर्तक शंखधर साख्वा सिरपा (पुरस्कार) ११४६ द्वारा पुरस्कृत गर्न लागिएको हो ।

त्यसैगरी डा. शर्मालाई लामो समयदेखि कोलोराडोमा रही अध्ययन, अध्यापन पश्चात रिटायर्ड जीवन बिताउदै बिभिन्न नेपाली संघ संस्थाहरुमा आबद्ध भई नेपाली भाषी समुदायको पहिचान र बिकासमा सकृय रहेका छन् । उनले नेपाली भाषा, साहित्य कलाको संरक्षणमा लेख, रचना तथा अभिव्यक्ति मार्फत् समाज र नेपाल राष्ट्रको लागि पुर्याएको योगदानको उच्च कदर गर्दै “कोलोराडो नेवाः खलः शताब्दी पुरुष सत्यमोहन सिरपा – ११४६” द्वारा पुरस्कृत गर्न लागिएको नेवाः खलः कोलोराडोका अध्यक्ष भूषणलाल श्रेष्ठले बताएका छन् ।

संस्थाले गत बर्षदेखि कोलोराडो “नेवाः खलः शताब्दीपुरूष सत्यमोहन सिरपा (पुरस्कार) अमेरिकाको कोलोराडोमा भाषा, साहित्य, कला, संगीत र संस्कृतिको जगेर्ना र विकासमा योगदान पुर्याएका व्यक्तित्वलाई र कोलोराडो नेवाः खलः नेपाल संम्वत प्रवर्तक शंखधर साख्वा सिरपा (पुरस्कार) अमेरिकाको कोलोराडोका स्थानीय नेपाली संघ, संस्थामध्ये उत्कृष्ट एकलाई खलःको तर्फबाट यो सम्मान गरिने घोषणा गरी पुरस्कृत गर्दै आएको छ ।

शंखधर साख्वा सिरपा नेपाल स्थित राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठान र शताब्दीपुरूष सत्यमोहन सिरपा लोक साहित्य परिषदसँग आवद्धता भई प्रदान गर्न लागिएको हो ।

नेपाली भाषी समुदायलाई सकारात्मक परिवर्तन गर्न अमूल्य योगदान पुर्याएको संस्था र ब्यक्तिलाई पुरस्कार प्रदान गरी सम्मान गर्ने कार्यक्रमलाई सफलताका साथ सम्पन्न पार्न सबैबाट साथ र सहयोगको अपेक्षा गरिएको अध्यक्ष श्रेष्ठले बताएका छन् ।

संस्थाले नेपाल सम्बत् ११४७ भिंतुना कार्यक्रम तथा आगामी ११४७-११४९ कार्यकालको लागि नयॉं कार्यसमिति चयन तथा पदस्थापन, इन्द्र जात्राका सहभागी कुमारी, गणेश, भैरव, लाखे, झ्यालिंचा, सांस्कृतिक कलाकार लगायत सम्पूर्ण स्वयंसेवकहरू तथा Platinum, Gold, Silver र Bronze Sponsor हरूलाई सम्मान गर्ने महासचिव सञ्जय शाक्यले बताइएका छन् ।

यसैगरी बिगत २० वर्ष देखि कोलोराडो राज्यमा रहि नेपालीभाषी बिभिन्न संघ संगठनमा आफ्नो अमूल्य योगदान दिएका, नेपाल सरकारको उच्च पदमा सम्हालेर राष्ट्र सेवापछी अवकास जीवन बिताइ रहेका समाजसेवी कोलोराडो नेवा:खल:का शुभचिन्तक ९२ बर्षिय रामप्रसाद श्रेष्ठलाई यस कोलोराडो नेवा:खलको मानार्थ सदस्यता (Honoury membership) प्रदान गर्ने घोषणा गरेको खलःका उपाध्यक्ष मनोज काजी तुलाधरले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्