-आरसी रिजाल-
अकल्पनीय अप्रत्याशित भीषण बाढी पहिरोको कारण पुल र सडकमात्र होइन कयौं बस्तीका नामनिशान छैनन् । तिर्थ गएका अनाम र उसकी श्रीमतीलगायत हजारौं जन बेपत्ता भएका छ्न् । एक्लो छोरा अनाम र बुहारी मात्र हुन् बुढाबुढीका सहारा । खोजबिनका लागि गुहार्नपर्ने सारा ठाउँमा गुहारे । तर कतैबाट कुनै संकेत प्राप्त भएको छैन।
” धर्य गर्नुस् ! आत्तिनु हुँदैन। छोराबुहारी सकुशल फिरुन ” भन्दै कामना गर्नेहरुले १५ दिन कटेपछी सान्त्वनाका भाषा फेरेर — अब आत्माको चिरशान्तिको कामना गर्नु पर्ने हो कि ? भन्न लाग्याछ्न्।
आफन्तहरुले — तपाईंहरु दुबैजना रोगी हुनुहुन्छ। पानी पिउनसमेत गाह्रो मान्नु हुन्छ। आफ्नो शरीरको ख्याल राख्नु पर्छ। यो प्रकोप त उहि- ” हुने हार दैव नटार ” भनेझैं हो भने।
प्रकोप आएको दिनदेखि बुढाबुढी बिपरित दिशातर्फ फर्केर निदाएको बाहाना गर्छन्। एकदिन बुढीले बुढातिर हेर्दै — “आआफ्नो भोग हो ” भन्दै मलाई त सम्झाउनु हुन्छ। छोराबुहारीको पिर त मलाई झैँ लाग्दो हो। कि लोग्नेमान्छे हृदय कठोर हुन्छ भनेझैं हो भनिन् ।
बुढाले — छोराबुहारीको कुरा त छँदैछ । झन् यी कलिली नातिनी को अनुहार देख्दा मन भित्रैबाट हुँडलिएर आउँछ । तैपनि आफुले आफैंलाई नियन्त्रणमा राखेको छु। हामीमात्र हैनौ यो प्रकोपमा हजारौं परिवारका हालत उस्तै छ। मेरो मन पनि ढुंगाको होईनँ। मुखबाट धुवाँ ननिस्केको मात्र हो। हृदय त मेरो पनि जलेर खाक भएको छ ” भने।
-हेटौंडा, मकवानपुर ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्