२९ जेष्ठ २०८३, शुक्रबार

कांग्रेसका पाँच लाख ३८ हजार क्रियाशील सदस्यता अद्यावधिक, डेढ लाख प्रक्रियामा

कोलोराडोखबर संवाददाता , June 12th, 2026

नेपाल । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानमा देशभर उत्साहजनक सहभागिता रहेको जनाएको छ। पार्टीले बिहीबार राति १२ बजेसम्म पाँच लाख ३८ हजार ६२२ जना क्रियाशील सदस्यले एनसीआईडी प्राप्त गरिसकेको र एक लाख ४९ हजार ३०९ जनाको अद्यावधिक प्रक्रिया जारी रहेको जानकारी दिएको छ ।

कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्तिअनुसार क्रियाशील सदस्यता अद्यावधिकका लागि योग्य कुल सात लाख ८२ हजार २०९ सदस्यमध्ये उक्त सङ्ख्याका सदस्यले वडा सभापतिमार्फत एनसीआईडी प्राप्त गरेका हुन् ।

साथै, एक लाख ४९ हजार ३०९ जनाले स्वयं अद्यावधिक फारम पेश गरी वडा सभापतिमार्फत प्रमाणीकरणको प्रक्रियामा रहेका छन् ।

कांग्रेसले इन्टरनेटको पहुँचभन्दा बाहिर रहेका उच्च हिमाली क्षेत्रका केही जिल्ला, विकट पहाडी भूभाग, बारा र खोटाङ जिल्ला तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूमा जारी अद्यावधिक कार्यलाई थप व्यवस्थित गरिने जनाएको छ ।

पार्टीले नयाँ क्रियाशील सदस्यता वितरण कार्य अर्को सूचना जारी नभएसम्म खुला रहनेसमेत स्पष्ट पारेको छ । क्रियाशील सदस्यता अद्यावधिक अभियानलाई सफल बनाउन सक्रिय रूपमा सहभागी हुने सदस्य, कार्यकर्ता तथा सम्बन्धित सबैप्रति नेपाली कांग्रेसले धन्यवाद व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्