४ जेष्ठ २०८३, सोमबार

प्राथमिक निर्वाचन गरेर स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार तय गर्ने घोषणा

कोलोराडोखबर संवाददाता , May 18th, 2026

नेपाल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्राथमिक निर्वाचन गरेर स्थानीय तह, प्रदेश सभा सदस्य र प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार तय गर्ने घोषणा गर्नुभएको छ ।

प्रजातान्त्रिक विचार समाजले ‘समसामयिक राजनीतिमा नेपाली कांग्रेसको भूमिका’ शीर्षकमा आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उम्मेदवार चयनको विधि र मापदण्ड तय गरिने बताउनुभएको हो ।

उहाँले सम्बन्धित कार्यसमितिले उम्मेदवार तय गर्ने अधिकार सुनिश्चित गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “उपसभापति पुष्पा भुसाल नेतृत्वको इलेक्सन ब्युरोमार्फत हामी पहिलो पटक प्राइमरी निर्वाचन गरेर पारदर्शी ढङ्गले उम्मेदवार छान्दै छौँ । अब काठमाडौँ महानगर प्रमुख को हुने भन्ने कुरा पार्टी सभापतिले खल्तीबाट झिकेर तोक्न नपाउने व्यवस्था गरिने छ । यसको एउटा प्रक्रिया हुन्छ ।”

सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको नीति तथा अनुसन्धान प्रतिष्ठानले ऊर्जा, शिक्षा, स्वास्थ्य, कानुन, व्यापारसहितका विषयमा संवाद अघि बढाएर विस्तृत अवधारणा बनाउने तयारी भइरहेको बताउनुभयो । उहाँले स्थानीय सरकार प्रमुखलाई बोलाएर पार्टीको विचार, स्रोत र विज्ञसँग छलफल गर्ने जानकारी दिँदै प्रदेशको बजेट बनाउने र अनुशासन कायम गर्नेबारे प्रशिक्षित गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “कुनै व्यक्तिगत स्वार्थ राखेर आएको होइन । मेरा अग्रजले जसरी २० औँ वर्ष जेल र निर्वासन भोगेर पार्टी र प्रजातन्त्रका लागि त्याग गर्नुभयो, म त्यही पदचाप पछ्याउन चाहन्छु । मलाई तपाईंहरूको मार्गदर्शन र विश्वास चाहिएको छ । नैतिक पुनर्जागरण सबैभन्दा महत्वपूर्ण कुरा हो । यदि यो काम गर्न सकियो भने अरू बाँकी कुराहरू आफैँ सम्बोधन हुँदै जाने छन् ।”

यसैबिच सभापति थापाले संविधानको आधारभूत संरचनामा असर नपर्ने गरी संशोधन प्रक्रिया अघि बढाउन प्रस्ताव गर्नुभएको छ ।

कांग्रेसको संविधान संशोधन अध्ययन तथा सुझाव पेस गर्न गठित विज्ञ समितिले आइतबार सानेपामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संसद्मा रहेका दल सम्मिलित सर्वदलीय समिति बनाएर सहमति जुटाउनुपर्ने बताउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्