२९ चैत्र २०८२, आईतवार

सार्वजनिक सवारीमा आरक्षित सिटको व्यवस्था अनिवार्य कार्यान्वयन गर्न निर्देशन

कोलोराडोखबर संवाददाता , April 12th, 2026

नेपाल । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीमा आरक्षित सिटको व्यवस्था अनिवार्य कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

विभागले सूचना जारी गर्दै सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १०७ बमोजिम तोकिएका सिट आरक्षित गरी कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

आरक्षण सिट कार्यान्वयन नभएको गुनासो बढेपछि विभागले सूचना सार्वजनिक गरेको विभागका सूचना अधिकारी गणेशमानसिं राईले जानकारी दिनुभयो । कार्यान्वयनका लागि ट्राफिक प्रहरीले चेकजाँच गरिरहेको पनि उहाँको भनाइ छ । कार्यान्वयन नगरे सवारीधनी र यातायात व्यवसायीलाई प्रचलित कानुन अनुसार कारबाही गरिने निर्देशनमा उल्लेख छ ।

विभागका अनुसार हरेक सार्वजनिक सवारीमा अशक्त व्यक्तिका लागि चार वटा र महिलाका लागि दुई वटा सिट अनिवार्य रूपमा आरक्षित राख्नुपर्ने प्रावधान छ । स्थानीय, मध्यम तथा लामो दुरीका रुटमा चल्ने सवारीले आरक्षण सिटको कार्यान्वयन नगरिरहेको विभागले जनाएको छ । लामो दुरीमा चल्ने सवारीसाधनका हकमा गन्तव्य प्रस्थान गर्नुभन्दा कम्तीमा चार घण्टाअगाडिसम्म त्यस्ता सिट सुरक्षित राख्नुपर्ने व्यवस्थाको विभागले स्मरण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्