नेपाल । प्रधानमन्त्री सुशीला कार्कीले ६ महिने आफ्नो कार्यभार सफल भएकाले निर्वाचित सरकारलाई स्वागत गर्न आतुर भएको बताउनु भएको छ ।
उहाँले बिहीबार राष्ट्रको नाममा सम्बोधन गर्दै भन्नुभयो, ‘‘ अन्तरिम सरकारको कार्यभार पूरा भएको र निर्वाचनमार्फत नयाँ जनादेश प्राप्त भइसकेको हुँदा नयाँ सरकारलाई स्वागत गर्न म आतुर छु। र आज पूर्ण आत्मविश्वासका साथ यो देशको उज्यालो भविष्य देखिरहेकी छु,जहाँ हाम्रो एकता, इमानदारी र प्रत्येक नागरिकको परिश्रमले नयाँ इतिहास लेख्नेछ ।’’
बिदाइ सम्बोधन गर्दै प्रधानमन्त्रीले भदौ २३ र २४ गतेको घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र घाइतेहरूको स्वास्थ्य लाभको कामना गर्नुभयो । ‘‘मैले जिम्मेवारी सम्हाल्दा मनमा डर र अनिश्चय थियो, तर परिवर्तनकामी युवा पुस्ताको आग्रहमा ६ महिनाभित्र निर्वाचन गराई जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यले यो भूमिका स्वीकार गरेकी थिएँ’’ उहाँले भन्नुभयो ।
भदौ २७ गते गठित अन्तरिम चुनावी सरकारले आफ्नो ६ महिने कार्यकाल पूरा गरी नयाँ सरकार गठनका लागि बाटो खुला गरेको छ । २०८२ सालको भदौमा भएको ‘जेनजी’ जनआन्दोलनपछिको जटिल परिस्थितिमा कार्यभार सम्हालेको यस सरकारले फागुन २१ गते सफलतापूर्वक प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गरेको छ ।
फागुन २१ गते एकै चरणमा सम्पन्न निर्वाचनले नेपालीहरूको राष्ट्रिय क्षमता र एकतालाई पुनः प्रमाणित गरेको प्रधानमन्त्रीको भनाइ छ ।
निर्वाचन सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका खेल्ने निर्वाचन आयोग, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र निजामती कर्मचारीहरूलाई उहाँले विशेष धन्यवाद ज्ञापन गर्नुभयो ।
उहाँले विशेष गरी ‘जेनजी’ आन्दोलनको मर्म अनुरूप नागरिकले स्पष्ट जनादेश दिएको र यसले विद्यमान निर्वाचन प्रणालीबारेका नकारात्मक भाष्यलाई गलत सावित गरिदिएको उल्लेख गर्नुभयो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्