११ फाल्गुन २०८२, सोमबार

मुलुकको भविष्य जोगाउन कांग्रेसको विकल्प छैनः प्रवक्ता चालिसे

कोलोराडोखबर संवाददाता , February 22nd, 2026

नेपाल । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले मुलुकको भविष्य जोगाउन कांग्रेसको विकल्प नभएको बताउनुभएको छ । फागुन २१ को निर्वाचन ‘देश बचाउने वा सकाउने’ भन्ने बिचको जनमत सङ्ग्रह भएको उहाँले दाबी गर्नुभयो ।

प्रतिनिधिसभा निर्वाचन २०८२ को सन्दर्भमा रूपन्देही क्षेत्र नं २ को बुटवलमा आयोजित ‘बुद्धिजीवीसँग नेपाली कांग्रेस’ अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता चालिसेले भन्नुभयो, “अहिलेको अवस्थामा देशलाई जिम्मेवारीका साथ जोगाउनुपर्ने चुनौती छ । देशको भविष्य कांग्रेससँग जोडिएकाले मतदाताले यस पटक गम्भीर भएर रुख चिह्नमा मतदान गर्नुपर्छ ।”

कांग्रेस जिम्मेवार लोकतान्त्रिक दल भएकाले ‘जेन–जी’ सहित सबै जनताको आदेशलाई शिरोधार्य गरेर अघि बढेको उहाँको भनाइ थियो ।

सुधारिएको कांग्रेसले देशको अवस्था बदल्ने दाबी गर्दै उहाँले सामाजिक सञ्जालको ‘अल्गोरिदम’ ले सिर्जना गरेको भ्रममा नपर्न आग्रह गर्नुभयो ।

प्रवक्ता चालिसेले कांग्रेसले स्पष्ट दृष्टिकोणसहित सभापति गगन थापालाई प्रधानमन्त्री बनाउने र देशको अर्थतन्त्र सुधार्ने योजना अघि सारेको बताउनुभयो । उहाँले गगन थापासँग अरू कसैको तुलना हुन नसक्ने भन्दै नयाँ भनिएका दलहरूले जनतालाई ठग्ने बाहेक केही नगरेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्