नेपाल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानले दाङको घोराही उपमहानगरपालिकास्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको आरोपमा चार महिनाको अवधिमा आयोगले प्रतिष्ठानका तत्कालीन उपकुलपति प्राडा सङ्गीता भण्डारी, तत्कालीन रजिस्ट्रारलगायतका पदाधिकारीमाथि दोस्रो पटक भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले बिहीबार तत्कालीन उपकुलपति भण्डारीसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्रतिष्ठानका लागि आवश्यक पर्ने सिटी स्क्यान मेसिन खरिद गर्ने क्रममा आर्थिक अनियमितता गरेको आरोपमा आयोगले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । यसअघि आयोगले भण्डारीविरुद्ध गत असोज २३ गते पहिलो मुद्दा दायर गरेको थियो ।
आर्थिक वर्ष २०७७–७८ मा एमआरआई मेसिन खरिद गर्ने क्रममा अनियमितता गरेको आरोपमा आयोगले उहाँसहित प्रतिष्ठानका तत्कालीन रजिस्ट्रार, निर्देशक विभिन्न विभागका प्रमुखसहित १३ जनालाई प्रतिवादी बनाएर पहिलो मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा प्रतिवादी सबैलाई जनही १२ करोड सात लाख ६० हजार नौ सय रुपियाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन अनुसार कैद र बिगोबमोजिम जरिबानाको माग गरिएको थियो ।
बिहीबार दायर गरिएको मुद्दा आर्थिक वर्ष २०७६–७७ मा गरिएको खरिद प्रक्रियासँग सम्बन्धित छ । भण्डारीसमेतको मिलेमतोमा प्रतिष्ठानले गुणस्तरहीन तथा तोकिएको सर्त र मापदण्डविपरीत मेसिन आपूर्ति गरेर गैरकानुनी लाभ लिएको आयोगले आरोप लगाएको छ ।
भण्डारीले प्रतिष्ठानमा कार्यरत अन्य जिम्मेवार अधिकारीसमेतको मिलेमतोमा पदीय ओहदाको दुरुपयोग गरेर आफू तथा अन्य प्रतिवादीलाई गैरकानुनी लाभ हुने गरी उक्त मेसिन खरिद गरेको र यसबाट राज्यलाई करोडौँ रुपैयाँ हानि पुगेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले बताउनुभयो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्