१९ कार्तिक २०८२, बुधबार

माओवादी केन्द्र र एकीकृत समाजवादीसहित विभिन्न ९ दलबीच बुधबार एकता हुँदै

कोलोराडोखबर संवाददाता , November 5th, 2025

नेपाल । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित विभिन्न ९ दल र समूहबीच बुधबार एकता हुने भएको छ ।

एकताका लागि अगुवाइ गरेको माओवादी केन्द्रले ती दलहरुसँगको एकता प्रस्तावलाई पार्टीको केन्द्रीय तहबाट मंगलबार अनुमोदन गरेको छ ।

माओवादी केन्द्र र एकीकृत समाजवादी बाहेक जनसमाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी, नेकपा माओवादी समाजवादी र नेकपा साम्यवादी तथा पूर्व माओवादी नेता गोपाल किराँती समूहबीच एकता हुने भएको हो ।

माओवादी केन्द्रका प्रवक्ता अग्नी सापकोटाले सबै घटकको सहभागितामा राष्ट्रिय सम्मेलनबाट एकता घोषणा गरिने जानकारी दिए । एकीकृत पार्टीले नेपाली विशेषताको वैज्ञानिक समाजवाद कार्यक्रमलाई अघि बढाउने भएको छ।

घोषणा बुधबार बिहान ११ बजे हुनेछ । साथै उनले एकीकृत पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने समेत बताए । एकीकृत पार्टीले जनताको चाहाना अनुसार काम गर्ने र सोही अनुसारको नीति कार्यक्रम बनाउने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्