-प्रधानमन्त्री सुशीला कार्की-
सबैलाई सर्वविदितै छ कि कुन परिस्थितिमा यो अन्तरिम सरकार गठन गर्नुपर्ने आवश्यकता पर्न आयो । २७ घण्टाको आन्दोलनबाट मुलुकमा जनधनको व्यापक क्षति हुन गएको छ । देशभर ७२ जना युवकयुवतीले मृत्युवरण गर्नु पर्यो । सुरक्षा निकाय, प्रहरीका बिट, सर्वोच्च अदालत, तराईका सम्पूर्ण जिल्ला अदालत, उच्च अदालतलगायत सिंहदरबारसमेत आगोमा बीभत्स तरिकाले जलेर गयो ।
हाम्रा जति पनि रेकर्ड, प्रमाण, सर्वोच्च अदालतका फाइल सबै नष्ट भएर हामीलाई ठुलो समस्या खडा भयो । भौतिक भवनको क्षतिले त केही हुँदैन, त्यो त बनाउन पनि सकिन्छ तर ती रेकर्ड, जमानाका फाइल, विवरण सबै नष्ट भएर हामी यतिखेर शून्यमा पुगेका छौँ । हाम्रा सुरक्षा निकाय मात्रै जलेनन्, सुरक्षाकर्मीको पनि देहावसान भयो । देशभरिका सुरक्षाकर्मीलाई दिइएका वाहनहरू अर्को खरिद नगरी नहुने अवस्था छ ।
यस पटक जुन किसिमको हत्या, हिंसा भयो; चाहे हत्या होस्, चाहे आगजनीको विषय होस्; मुलुकका लागि अति आवश्यक संस्थाहरू छन् । तिनमा छानी छानी प्रहार भएको छ । प्रहरी सुरक्षाका लागि अनिवार्य थिए, तिनमाथि प्रहार भयो । प्रहरी बिट, चौकी र थाना सबै जलेर नष्ट भए । अदालतका फाइल सबै नष्ट भएर गए । सिंहदरबारभित्रका पनि कैयौँ त्यस्ता पुराना फाइल सबै नष्ट भए ।
देशका आवश्यक संस्था जसले जहाँबाट शासन चलाएको छ; ती भवनहरू, त्यहाँ रहेका मिसिल, ती कागज नष्ट भए । मलाई त यो देखेर लाज पनि लागेको छ । नेपाली नै भएर यो काम गरेको हो भने तिनलाई नेपाली कसरी भन्ने ? मान्छेले ज्यान मार्छ, भवन भत्काउला, भित्र रहेका सरसामान लुट्ला, बेग्लै हो तर यसप्रकारको घटना देशमा पहिलो चोटि भएको हो ।
हाम्रा संस्थाहरू यस्तो अवस्थामा पुगेका छन् कि जसले हामीलाई अनुहार देखाउनै नसक्ने अवस्थामा पु¥याएको छ । यो एउटा ‘प्लान वे’ मा षड्यन्त्रै भएको हो कि भन्ने लाग्छ । अनुसन्धान हुन बाँकी छ । अनुसन्धान गरेर यसरी प्रहार गर्नेलार्ई र नोक्सान पु¥याउनेलाई, आवश्यक कुराहरूको नामोमेट गराएकालाई छोड्नुपर्ने अवस्था छैन । कारबाही हुनु पर्छ । यसको खोजबिन र तलास हुनुपर्ने अवस्था छ ।
जुन परिस्थितिमा म आएँ, कुनै रहरले आएको होइन । सडकबाट जताततैबाट सुशीला कार्कीलाई जिम्मा देऊ भनेर आवाज उठ्यो । मैले पनि विवश हुनु प¥यो । जहाँसम्म, मेरो जुन टिम छ; हामी कुनै यो सत्ताको, यो पदको रसास्वादन गर्न आएका होइनौँ । मेरो उमेर पनि होइन त्यो । हामीले के चाहेको हो भने– ठिक छ, हामीलाई खोजियो, हामीले यो बेलामा किन सेवा नगर्ने ? हामीसँग छ महिना मात्रै अवधि छ । त्योभन्दा बढी बस्ने अवस्था पनि हुँदैन, कुनै हालतमा पनि आफ्ना कामकारबाही गरेर हामी मुक्त हुने हो । नयाँ आउने संसद्, नयाँ आउने मन्त्रीहरूलाई यो जिम्मेवारी र दायित्व सुम्पिने अठोट गरेका छौँ । यो अठोटमा यहाँहरूको साथ नपाई सम्भव छैन । सुरक्षा निकायले पनि हामीलाई साथ नदिई यो सम्भव छैन । मलाई सहयोग गर्नूस् ।
हाम्रो जति नोक्सान भएको छ, क्षति भएको छ; सचिवज्यूलाई, मुख्य सचिवज्यूलाई पनि हिजोअस्ति नै मैले भनेँ । हामी आफैँ, आफ्नैतर्फबाट, आफ्नै मुलुकका जनताबाट पहल गरेर त्यी कुराहरू पूरा किन नगर्ने ? सानोतिनो भए पनि । तराईमा किन हामीले बाँसका भाटा जोडेर प्रहरीको बिट नबनाउने ? सस्तो, हामीलाई कामचलाउ भए त पुग्छ । त्यो हामी किन नगर्ने ?
भूकम्प आयो ७२ को, मलाई थाहा छ, यो सिंहदरबार ‘रेट्रोफिट’ गर्दा कैयौँ रुपियाँ खर्च भयो, यो अस्तिको कुरा हो । त्यसमा मुलुकको पैसा खर्च भएको छ । सर्वोच्च अदालतमा म थिएँ, त्यो कति दुःख गरेर रेट्रोफिट भएको, आज त्यो भवनलाई राम्रोसँग प्रयोग/उपयोग नगर्दै अहिले जलेर भष्म भयो ।
यो अपराधीले गरेको हामीमाथिको चुनौती हो । यो मुलुकविरुद्ध गरेको चुनौती हो । त्यो चुनौती तपाईंहामी सबै मिलेर, जुटेर एकताको भावना राखेर आफ्नोतर्फबाट, चाहे जनतालाई गुहारेर हुन्छ, बनाउनु पर्छ । म हिजो चक्रपथनिरको भाटभटेनी, त्यहाँनिरको प्रहरी बिटमा गएको थिएँ । माथि चढेँ, हेरेँ । उत्रिँदा व्यापारीहरूको ठुलो समूह त्यहाँ भेला भयो । उनीहरूले सम्माननीयज्यू ! यसमा कुनै चिन्ता लिनु पर्दैन, हामी छौँ । सुरक्षा हामीलाई चाहिने हो । यति ठुलो फट्याइँ भएको छ । हामी यसलाई पूरा गर्दिन्छौँ । तपाईंहरूले धन्यवाद… धन्य मान्नु पर्दैन । यो हाम्रो जिम्मा भो, हामी गर्छौं भनेर भनेपछि मैले पनि उहाँहरूलाई धन्यवाद दिएँ किनभने कमसेकम राज्यको एउटा सानो कोष त बच्यो ।
उहाँहरूले तपाईं त वकिलबाट आएको सर्वोच्च अदालत बनाउन वकिललाई भन्नुस् न, रातदिन त वकिल खट्ने हो भने । भनेर हुने त होइन, सर्वोच्च अदालत बन्न धेरै पैसा लाग्ने अवस्था छ । त्यस कारण जे होस्, हामी सबै मिलौँ । एकले अर्काको आलोचना नगरौँ । हामी युनिट चाहिँ होऔँ ।
यो जो एउटा ‘मुभमेन्ट’ आयो, अचम्म यस्तो विश्वमा कहीँ पनि भएको छैन । २७ घण्टाको आन्दोलनमा कायापलट गरेको मलाई थाहा छैन । त्यसैले यो समूहले मागेको कुरा के हो भने भ्रष्टाचारको अन्त्य, सुशासन, ‘गुड गभर्नेन्स’ र एउटा समान आर्थिक समानताको माग पूरा गर्न हामी तपाईंहरूले अठोट गर्नु पर्छ ।
मृत्युवरण गरेका नाबालक, साना साना स्कुले र कलेजका विद्यार्थी, छात्रछात्राका परिवारलाई मैले भेटेँ । उहाँहरूको आँसु देखेर बहुतै दुःख लाग्यो । अनि मलाई के महसुस भयो भने, एउटा परिवारको सदस्यको अन्त्य भएको छ । राज्यसँग हात थापेर मलाई केही सहयोग गर, मेरो घरमा यत्रो नोक्सान भो, ज्यानधन गयो भनेर भन्नुभन्दा पहिले राज्यले नै पुर्ताल किन नगर्ने ? मर्न त उहाँहरूको परिवारको सदस्य म¥यो, त्यसपछि आर्थिक अवस्थाले उहाँहरूमा विपन्नता आउँछ । त्यसैले मुख्य सचिवज्यू र मैले ९–१० बजेसम्म सरसल्लाह गर्यौं र यहाँ आएर उहाँहरूलाई सहिद घोषणा गरेको निर्णयमा हस्ताक्षर गरेँ ।
यहाँको सिस्टमै अब देश अनुसारको हुन्छ, मुलुक अनुसारको, १० लाखको एउटा लिमिटेसन छ । त्यो १० लाख प्रदान गर्ने निर्णय चाहिँ हामीले ग¥यौँ । घाइतेलाई पनि उपचार र केही राहतको निर्णय गरेका छौँ । अहिले मृतकका परिवार काठमाडौँ भ्यालीमै छन् । उनीहरू बसेको, उठेको, खाएको, यहाँ बसेको, त्यो खर्च हेरिदिने । शवहरू आफ्नो स्थानीय क्षेत्रमा पुर्याउने हो भने कसैले चाहन्छ भने सवारीसाधनका लागि पनि व्यवस्था गरिदिने । पछिसम्म, अपाङ्गको परिभाषाभित्र कोही परेछन् भने उपचारको एउटा सुविधाको व्यवस्था गरेका छौँ । निजी क्षेत्रबाट पनि केही गर्न सकिन्छ कि भनेर हाम्रा मित्रहरूले कोसिस गरिरहनुभएको छ ।
एउटा चोट परेको व्यक्तिलाई हामीले मलम लगाउनै पर्छ । किनभने यो हाम्रै इस्यु हो, हाम्रै मामिला हो, हाम्रै छोराछोरी हुन्, हाम्रै सन्तान हुन् । अन्यथा मान्ने, दुःखी बनाउने हाम्रो कहिल्यै सोच रहेन । त्यसैले हठात् यो निर्णय गर्यौं । अब क्रमशः सद्गतका लागि तयारी हुन्छ । पोस्टमार्टम भइसकेको जसको शव छ, उनीहरूको शव आफ्नो घर भएको क्षेत्रमा लैजान चाहनेलाई व्यवस्था पनि गरिदिने, यतैको शव छ भने दाहसंस्कारको बाटो खुल्छ । त्यसैले अब सबै पक्ष मिलेर नेपाल निर्माण गर्नु पर्यो ।
अर्को दुःखान्त घटना– व्यक्तिको सम्पत्तिको, व्यापारीको, इन्टरप्रेनरको, उद्योगीको सम्पत्ति पनि डढाउने, नास्ने, मास्ने काम भएको छ । तिनलाई जसरी उभिन्छौँ, उभियौ भनेर सोच्न भएन । किनभने कतिपय व्यापारी त उठ्न नसक्ने अवस्थामा पुगेका छन् । त्यसमा पनि राज्यले विचार गर्छ, हामी विचार गर्छौं कि उनीहरूलाई कसरी उठाउने ? कुन सहयोग दिने ? बैङ्कको ‘सफ्ट लोन’ बाट हुन्छ कि । साना साना सटर खोलेका व्यापारी पनि लुटिएका छन् ।
हामी विषम आर्थिक परिस्थितिमा छौँ । जनता पनि विषम आर्थिक परिस्थितिमा छन् । हाम्रो सरकार पनि विषम आर्थिक परिस्थितिमा छ । के कसो गर्न सक्छौँ, त्यही अनुसार प्रयास गर्छौं । सबैभन्दा दुःखको कुरा भदौ २४ गते एउटा आतङ्क जस्तो गरी फैलाइयो; हरेक व्यक्तिका घर, सम्पत्ति, सुरक्षा निकायदेखि लिएर, सिंहदरबार, अदालत जस्ता निकाय जलाउने काम भयो ।
आज मैले बिहान समाचारमा पढेँ, जो व्यापारीको नोक्सान भएको छ, उहाँहरूले भन्नुभएको छ– हामी उठ्ने कोसिस गर्छौं, हामी हार्दैनौँ । आन्तरिक बल देखाउनुभएकोमा धन्यवाद पनि दिन्छु । शुभकामना पनि दिन्छु । आतङ्क जस्तो जलाएर खरानी बनाउने काम गरियो, त्यसका बिच पनि म उठ्छु भन्ने उहाँहरूले जुन किसिमको अठोट गर्नुभएको छ; त्यसका लागि शुभकामना र धन्यवाद दिन चाहन्छु । राज्यको तर्फबाट उहाँहरूलाई सल्लाह चाहिने हो कि, कुन किसिमबाट सहयोग गर्ने हो, त्यो हामी विचार गर्ने छौँ ।
(प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहणपछि गर्नुभएको सम्बोधनको सम्पादित अंश)
प्रतिक्रिया दिनुहोस्