१८ बैशाख २०८२, बिहीबार

प्रज्ञा-प्रतिष्ठानद्वारा दुवाल र चन्दलाई पुरस्कार दिने घोषणा

कोलोराडोखबर संवाददाता , April 24th, 2025

नेपाल । नेपाल प्रज्ञा-प्रतिष्ठानले ‘प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार’ र ‘प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार’ २०८१ को घोषणा गरेको छ ।

वरिष्ठ साहित्यिक पत्रकारद्वय मोहन दुवाललाई ‘प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार’ र वीरबहादुर चन्दलाई ‘प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार’ प्रदान गर्ने घोषणा प्रज्ञा–प्रतिष्ठानले गरेको हो ।

वरिष्ठ साहित्यिक पत्रकार दुवालले बिसको दशकदेखि साहित्यिक पत्रकारिता गर्दै आउनुभएको हो । उहाँको प्रधान सम्पादकत्वमा जनमत साहित्यिक मासिक काभ्रेबाट विगत ४० वर्षदेखि प्रकाशित हुँदै आएको छ । देश विदेशमा समेत प्रसिद्व जनमतले ३३० अङ्क प्रकाशित गरिसकेको छ । यो नेपाली भाषाको उत्कृष्ट साहित्यिक पत्रिकामा पर्दछ । स्रष्टा–द्रष्टा र सङ्गठक लगायतका बहुक्षेत्रमा विशेष योगदान गरेका दुवाल जनमत वाङ्मय प्रतिष्ठान तथा नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष समेत हुनुहुन्छ ।

वरिष्ठ साहित्यिक पत्रकार वीरबहादुर चन्द ‘विश्राम’ले तिसको दशकदेखि साहित्यिक पत्रकारिता गर्दै आउनुभएको हो । उहाँको प्रधान सम्पादकत्वमा डोट्याली भाषाको साहित्यिक मासिक ‘गुगुल्डी’ सुदूरपश्चिमको कन्चनपुरबाट विगत २८ वर्षदेखि प्रकाशित हुँदै आएको छ । नेपाली डोट्याली भाषामा लोकप्रिय रहेको ‘गुगुल्डी’को ३३१ अङ्क प्रकाशित भइसकेको छ । साहित्यिक सर्जक र सांस्कृतिक सङ्गठक जस्तो महत्त्वपूर्ण भूमिकामा रहेका चन्द गुगुल्डी वाङ्ममय प्रतिष्ठानका अध्यक्ष रहेका छन् ।

प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईको अध्यक्षतामा बसेको बैठकले उक्त पुरस्कारको घोषणा गरेको हो । उक्त पुरस्कारको राशी जनही ५० हजार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्