कविता: मेरो कवितामा नारा छ
-आर. आर. चौलागाईं-
हो, तिमीले ठिक भन्यौ साथी !
तिम्रो कवितामा कला छ
मेरो कवितामा नारा छ ।
तिम्रो कविताले भोकाहरूको भोक लेख्दैन
नाङ्गाहरूको आङ लेख्दैन
प्यासीहरूको प्यास लेख्दैन
दुःखीहरूको सुस्केरा लेख्दैन
तर मेरो कविताले भोक लेख्छ
नाङ्गो आङ लेख्छ
प्यास लेख्छ
सुस्केरा लेख्छ
त्यसैले त तिमी भन्छौ साथी !
तिम्रो कवितामा कला छ
मेरो कवितामा नारा छ ।
तिम्रो कवितामा
कुकुर खेलाएर बस्ने
ठूलाघरका मैयाँसाहेबहरूको कुरा हुन्छ
तिम्रो कवितामा
छाती बीस इन्च
कम्मर सत्ताईस इन्च
नितम्ब चौंतीस इन्च
यतियति कुराहरू यतियति इन्च भएका
विश्वसुन्दरीहरूको चर्चा हुन्छ
तिम्रो कवितामा
फिल्मी हिरोइनहरूको नखराको बयान हुन्छ
तिम्रो कवितामा
दिनदिनै फेरिने
छिल्लिएका जोडीहरूको प्रेमको प्रशंसा हुन्छ
तर मेरो कवितामा
दिनभरि डोको बोक्ने
फूलमाया र सुन्तलीहरूको कुरा हुन्छ
मेरो कवितामा
असमयमै एक्लो भ...









