२० फाल्गुन २०८२, बुधबार

कम्युनिष्ट पार्टीहरुबीचको एकता र सहकार्यमा नेपालको जोड

कोलोराडोखबर संवाददाता , November 17th, 2024

नेपाल । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकलाई समाजवादको दिशातर्फ अघि बढाउन कम्युनिष्ट पार्टीहरुबीचको एकता र सहकार्यमा जोड दिनुभएको छ ।

अक्टोबर क्रान्ति दिवसको अवसरमा नेकपा (एकीकृत समाजवादी) को अन्तर्राष्ट्रिय विभागले शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेपालमा कम्युनिष्ट पार्टीहरुबीचको एकता र सहकार्यले मात्रै नयाँ समाज निर्माण गर्न र मुलुकलाई समाजवादको दिशातर्फ अघि बढाउन सहज हुने बताउनु भएको हो ।

नेपाललाई कम्युनिष्टहरुको उर्वरभूमिका रुपमा लिनुपर्ने उहाँको भनाइ छ । अध्यक्ष नेपालले विश्वभरका कम्युनिष्ट पार्टीसँग सम्बन्ध राख्दै नेकपा (एकीकृत समाजवादी) अघि बढिरहेको जानकारी दिनुभयो । नेपालमा कम्युनिष्ट आन्दोलनको लामो इतिहास रहेको भन्दै उनले यसलाई थप बलियो बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पार्टीका सम्मानित नेता झलनाथ खनाल, रसियाका लागि पूर्वराजदुत मिलन लुताधर, कम्युनिस्ट पार्टी (सिपिसिआर), रसिया का अध्यक्ष सर्गेई मालिन्कोबीच, रसीयन कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय आयोगका प्रतिनिधि स्टुपिन आंद्रेई, सीपीसीआर, ब्रायन्स्क क्षेत्रमा पार्टी शाखा प्रमुख एलेना डेगट्यारेभाले आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा विभाग सचिव डा।शंकर खतिवडाले स्वागत मन्तव्य राख्नु भएको थियो भने विभाग सदस्य योगिता राईले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्