२५ माघ २०८१, शुक्रबार

इलाममा एमालेका सुहाङ नेम्वाङ विजयी, घण्टी उम्मेदवारको जमानत जफत

कोलोराडोखबर संवाददाता , April 30th, 2024

नेपाल । बैशाख १५ गते इलाम २ मा सम्पन्न उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । नेपाली कांग्रेसका डम्बर खड्कालाई ५८३० भोटले पछि पार्दै सुहाङ निर्वाचित भएका हुन् ।

सुहाङले २७ हजार ७७२ भोट प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका खड्काले २१ हजार ९४२ पहिचानवादी उम्मेदवार डकिन्द्र थेगिम ११ हजार ४५७ भोट ल्याएर तेस्रो हुँदा चौथो स्थानमा रास्वपाका मिलन लिम्बूले ५ हजार ५० भोट प्राप्त गरे ।

रास्वपाका लिम्बुले जमानतसमेत जोगाउन सकेनन् । सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुने कानूनी व्यवस्था छ ।

दिवंगत संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको कान्छा छोरा सुहाङले शानदार मतका साथ विजयी हुँदै बुवाको विरासत कायम राखेका छन् ।

बझाङमा भण्डारी बिजयी
यता बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा नेकपा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी हुनुभएको छ । भण्डारीले कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहलाई २६६ मतको अन्तरले पराजित गर्नुभएको हो ।

भण्डारीले ११ हजार ६ सय १२ मत प्राप्त गर्नुभएको छ भने उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गर्नुभयो । यस्तै माओवादीका जनक बुढाले ३ हजार ९ सय ६७ मत र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १३ मत प्राप्त गर्नुभएको छ ।

२०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया दिनुहोस्