२६ फाल्गुन २०८२, मंगलवार

फुटबल खेलाडीद्वारा एन्फा मुख्यालयमा तालाबन्दी

कोलोराडोखबर संवाददाता , March 10th, 2026

नेपाल । अखिल नेपाल फुटबल संघ (एन्फा) को पटक पटक रोकिएको निर्वाचनका लागि चैत १३ गते नयाँ मिति तय गरिएको छ ।

एन्फाको निर्वाचनको मिति नजिकिँदै गर्दा फुटबल खेलाडी भने आन्दोलनमा उत्रिएका छन् । एन्फा नेतृत्व निर्वाचनमा मात्र केन्द्रित बनेको र फुटबल गतिविधिबाट टाढा रहेको भन्दै खेलाडीले यसअघि पनि आन्दोलन गर्दै आएका थिए ।

नेपाल फुटबल खेलाडी संघले आइतबार विभिन्न तीन वुँदे माग राख्दै ललितपुरको सातदोवाटोस्थित एन्फा मुख्यालयमा तालाबन्दी गरेका हुन् ।

खेलाडी सङ्घका अध्यक्ष विक्रम लामाको नेतृत्वमा एन्फा पुगेको टोलीले तीन वर्षदेखि हुन नसकेको सहिद स्मारक ‘ए’ डिभिजन लिग निश्चित गरिनुपर्ने, खेलाडी अक्षय कोषको विस्तृत विवरण सार्वजनिक गरिनु पर्ने र विगत नौ वर्षदेखि खेलाडीले पाउन बाँकी पुरस्कार रकम उपलब्ध गराउनुपर्ने माग राखेका छन् ।

खेलाडी एन्फा मुख्यालय पुगेपनि एन्फा अध्यक्षलगायत पदाधिकारी भने उपस्थित थिएनन् । खेलाडीले माग पूरा नभए अब झनै कडा आन्दोलन गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्