२५ फाल्गुन २०८२, सोमबार

नगेन्द्रराज शर्मा र रोचक घिमिरेलाई ‘रेखा पवन स्रष्टा सम्मान-२०८२’ समर्पण

कोलोराडोखबर संवाददाता , March 9th, 2026

नेपाल । नेपाल स्रष्टा समाजले ‘अभिव्यक्ति’ पत्रिकाका सम्पादक (हाल संरक्षक) नगेन्द्रराज शर्मा र ‘रचना’ पत्रिकाका सम्पादक रोचक घिमिरेलाई ‘रेखा–पवन स्रष्टा सम्मान—२०८२’ समर्पण गरेको छ ।

एक लाख १११ रुपैयाँ नगद राशिसहितको यो सम्मान दुवै स्रष्टालाई संयुक्त रूपमा प्रदान गरिएको हो ।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सम्मान ग्रहण गर्दै अग्रज साहित्यिक पत्रकार शर्माले आफ्नो पूजा ‘अभिव्यक्ति’को काम र आफ्ना भगवान् साहित्य क्षेत्रमा क्रियाशील साथीहरू भएको बताए ।

अर्का सम्मानित स्रष्टा रोचक घिमिरेले यो सम्मान प्राप्त गरिरहँदा नेपाली भाषा साहित्यका क्षेत्रमा केही काम गरेका रहेछौँ भन्ने अनुभूति भइरहेको उल्लेख गरे ।

कार्यक्रममा सम्मानित स्रष्टाहरूको परिचय दिँदै साहित्यकार प्रमोद प्रधानले यी दुवै अग्रज साहित्यिक पत्रकारले सयौँ सर्जक जन्माएको चर्चा गर्दै यी दुवै उम्दा साहित्यकार र लेखक समेत भएको बताए ।

साहित्यकार अशेष मल्लले यी दुवै व्यक्तित्वलाई देख्दा शिर निहुरिने गरेको बताउँदै शर्मा र घिमिरे आफ्नो पुस्ताका सर्जकहरूको अभिभावक भएको उल्लेख गरे ।

साहित्यकार प्राडा गोविन्दराज भट्टराईले शर्मा र घिमिरे नेपाली भाषा साहित्य र साहित्यिक पत्रकारिताका खम्बा भएको बताए । दुवै साधक र सम्पादकहरूको साहित्यिक पत्रकारिताप्रतिको निष्ठा र साधना अद्वितीय रहेको उनले भने ।
साहित्यकार प्राडा लक्ष्मणप्रसाद गौतमले शर्मा र घिमिरेको साहित्यिक योगदानप्रति आँखा चिम्लिन नमिल्ने बताए ।

उक्त अवसरमा सम्मानका संस्थापकमध्ये एक तथा पवन रेखाकी छोरी रीता केसी बस्नेतले सम्मान स्थापना गर्दाको क्षण स्मरण गरिन् ।

प्रतिक्रिया दिनुहोस्