१३ फाल्गुन २०८२, बुधबार

निर्वाचन प्रचारप्रसारमा संलग्न नहुन प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई निर्देशन

कोलोराडोखबर संवाददाता , February 24th, 2026

नेपाल । निर्वाचन आयोगले प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न नहुन आह्वान गरेको छ ।

केही प्राध्यापक, शिक्षक तथा कर्मचारी दल र उम्मेदवारका पक्षमा प्रचारप्रसारमा लागेको भनी आयोगमा उजुरी प्राप्त भएकाले यस्तो आह्वान गरिएको आयोगद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचनको स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आयोगले निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ । आचारसंहिताको पूर्ण पालना गर्नु सरोकारवाला पक्षहरूको दायित्व रहेको र सबै राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित पक्षहरूले निर्वाचन आचारसंहिताको पूर्ण पालना भए नभएको विषयमा आयोगले अनुगमन गरिरहेको प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।

शैक्षिक संस्थामा सम्बद्ध प्राध्यापक, शिक्षक तथा कर्मचारीले आफ्नो पदको मर्यादा, तटस्थता तथा कानुनी दायित्वलाई मनन गर्दै आचारसंहिताविपरीत हुने कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसार नगर्न नगराउन आयोगले सचेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस्