-आर. आर. चौलागाईं-
यहाँहरूले दुःख नदिएको भए
म यत्तिको बलियो हुँदैनथेँ ।
यहाँहरूले मलाई
कहिले बाढीमा बगाउनु भो
कहिले आगोमा जलाउनु भो
कहिले फाँसीमा झुन्ड्याउनु भो
कहिले खुकुरीले छप्काउनु भो
तर म मरिनँ ।
यहाँहरूले मलाई
कहिले भीरबाट धकेल्नु भो
कहिले सिस्नुघारीमा फ्याँक्नु भो
कहिले विष खुवाउनु भो
कहिले बन्दूकले हान्नु भो
तर म मरिनँ ।
यहाँहरूले मलाई
कहिले खाल्डोमा पुर्नु भो
कहिले सर्पले टोकाउनु भो
कहिले हात्तीले कुल्चाउनु भो
कहिले ग्याँस च्याम्बरमा हाल्नु भो
तर म मरिनँ ।
यहाँहरूले मलाई
कहिले बगरमा घिसार्नु भो
कहिले घाममा सुकाउनु भो
कहिले करेन्ट लगाउनु भो
कहिले बमले उडाउनु भो
तर म मरिनँ ।
म अहिले अजम्मरी भएको छु
यहाँहरूले अब मार्न सक्नुहुन्न मलाई
मलाई मार्न नसकेकोमा
यहाँहरूलाई भोक लागेको छैन
निन्द्रा लागेको छैन
यहाँहरूलाई भोक निन्द्रा
केही पनि लागेको छैन
तर मचाहिँ यता
आरामले बसिरहेको छुु
मीठोमीठो खाइरहेको छु
र यहाँहरूको हालखबर बुझिरहेको छु ।
मलाई यसरी बलियो बनाइदिनु भएकोमा
हार्दिक धन्यवाद छ यहाँहरूलाई ।
-हेटौँडा-४, मकवानपुर ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्