२८ माघ २०८२, बुधबार

अष्ट्रेलियामा अनियन्त्रित कार घरभित्र पस्दा ५३ वर्षीया विष्णुकुमारी गुरुङको मृत्यु

कोलोराडोखबर संवाददाता , February 10th, 2026

अमेरिका । अस्ट्रेलियामा गाडी दुर्घटनामा एक नेपाली महिलाको मृत्यु भएको छ ।

अस्ट्रेलियाको पर्थ शहरमा शुक्रबार मध्यराति अनियन्त्रित कार घरभित्रै पस्दा ५३ वर्षीया नेपाली महिला विष्णुकुमारी गुरुङको ज्यान गएको हो ।

उक्त दुर्घटना शुक्रबार राति करिब ११ः४० बजे भएको हो । अलेक्जेन्डर रोड हुँदै रिभरभेल क्षेत्रतर्फ जाँदै गरेको कार अचानक अनियन्त्रित भई एक घरमा ठोक्किएको थियो ।

दुर्घटनाका बेला विष्णुकुमारी गुरुङ घरको अघिल्लो कोठामा सुतिरहेकी थिइन् । कार ठोक्किएर घरभित्रै पस्दा उनी गम्भीर घाइते भइन् र घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

विष्णुकुमारी केही दिनअघि मात्रै पर्थ पुगेकी थिइन् । उनी छोरी–ज्वाइँको घरमा बस्दै आएकी थिइन् । छोरीले सन्तान जन्माएपछि सहयोगका लागि उनी अस्ट्रेलिया गएकी थिइन् ।

मृतककी छोरी निशा गुरुङले आफूहरू गहिरो शोकमा रहेको बताइन् ।

दुर्घटनामा संलग्न कार चालक ३६ वर्षीय राइस हकिन्सलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

आइतबार अदालतमा उपस्थित गराइएका हकिन्सलाई धरौटीमा छाड्न अदालतले अस्वीकार गरेको छ। उक्त घटनासम्बन्धी अर्को सुनुवाइ फेब्रुअरी १८ मा तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्