नेपाल (हेटौंडा) । नेपाली कांग्रेसको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार महालक्ष्मी उपाध्यायले चुनाव हार्दा पनि मकवानपुरको विकासमा निरन्तर लागिपरेको बताउँदै यो पटक जितेर सेवा गर्ने मौका दिन अनुरोध गरेकी छिन् ।
सोमबार कांग्रेस हेटौंडा ८ नम्बर वडा समितिले आयोजना गरेको कृयाशील सदस्यसँगको छलफलका डिनाले यस्तो बताएकी हुन् । ‘मलाई सांसद् मात्रै बन्नका लागि धेरै विकल्पहरु थिए । यो पटक पनि राष्ट्रियसभा सदस्य बन्नका लागि भनिएको थियो’, उनले भनिन्, ‘म यो पटक कुनै हालतमा जनताबाट अनुमोदन भएर आउँछु भन्ने दृढ विश्वासका साथ अन्तिम पटक प्रतिस्पर्धा गर्न आएको हुँ ।’ बद्लिएको कांग्रेसले मुलुक बनाउने अभियानका साथ देशभरको सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको उनको दावी थियो ।
कांग्रेसका सभापतिसहित पदाधिकारी, मकवानपुर जिल्लाका नेताहरु र आम मतदाताले समेत यो पटक चुनावी प्रतिस्पर्धामा उत्रिन अनुरोध गरेको भन्दै उनले यो पटक मकवानपुरसहित देशभैर कांग्रेसले जित्ने दावी गरिन् । ‘म दिने ठाउँमा नपुग्दा पनि जिल्लाको विकास र समृद्धिका लागि निरन्तर लागिपरेँ । यो पटक जितेर जनतासँग ५ वर्ष सँगसँगै रहेर काम गर्नेछु’, कांग्रेस निवर्तमान केन्द्रीय सहमहामन्त्री समेत रहेकी डिनाले भनिन् ।
कार्यक्रममा कांग्रेस मकवानपुरका पूर्व सभापति रघुरमण न्यौपानेले बद्लिएको कांग्रेसले अब मुलुक समेत बदल्ने दावी गरे । मकवानपुरको विकास र समृद्धिसँगै योजना भएको युवा नेता गगन थापालाई प्रधानमन्त्री बनाउन पनि जिल्लाको दुवै क्षेत्रमा कांग्रेसलाई जिताउनुपर्ने उनको भनाई थियो । कांग्रेस हेटौंडा ८ नम्बर वडा निर्वाचन परिचालन समिति संयोजक हरिप्रसाद वाग्लेको अध्यक्षतामा भएको कार्यक्रममा ८ नम्बर वडाका लागि कांग्रेसका प्रतिनिधि रामकृष्ण कोइराला, कार्यबाहक वडा सभापति शम्भुप्रसाद दुलाल लगायतले कांग्रेसको पक्षमा राम्रो जनलहर सृजना भएको बताउँदै मतान्तर बढाउने गरी जनतासम्म जान अनुरोध गरे ।
कार्यक्रममा कांग्रेसको तर्फबाट समानुपातिकतर्फका उम्मेदवार सर्मिला श्रेष्ठ, पवित्रा विश्वकर्मासहित कांग्रेस मकवानपुरका पदाधिकारीहरुको आतिथ्यता रहेको थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्