२७ माघ २०८२, मंगलवार

नेपाली काँग्रेसले ‘फागुन २१ का लागि मेरो २१ दिन’ कार्यक्रम शुरू गर्ने

कोलोराडोखबर संवाददाता , February 9th, 2026

नेपाल । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनका लागि पार्टी सम्बद्ध नेता कार्यकर्तालाई परिचालन गर्न भन्दै ‘फागुन २१ का लागि मेरो २१ दिन’ कार्यक्रम शुरू गर्ने भएको छ ।

आइतबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठकले निर्वाचनलाई लक्षित गर्दै यस्तो कार्यक्रम गर्ने निर्णय गरेको हो । त्यसका लागि कांग्रेसले नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका ०८२ को बुँदा नं २१ मा यो विषय उल्लेख गरेको छ ।

फागुन २१ का लागि मेरो २१ दिन भन्ने प्रतिबद्धता साथ फागुन १ देखि २१ गतेसम्म जसको पदीय जिम्मेवारी जहाँ ‘उसले खट्ने त्यहाँ’ नीति अन्तर्गत पार्टीका सबै साथीहरू चुनाव मैदानमा खट्नुहुनेछ निर्णयमा भनिएको छ ।

यसरी खटिँदा केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रले निश्चित जिम्मेवारी साथ निश्चित ठाउँमा तोकेका प्रतिनिधि यथास्थानमा कार्य सकेर पुनः आफ्नै जिल्ला, क्षेत्र, पालिका र वडामा केन्द्रित रहन भनिएको छ।

यस्तै तोकिएको जिम्मेवारी लिएर अन्यत्र गएका बाहेक अरु सबै तहका पार्टी पदाधिकारी र सदस्यहरू आआफ्नो क्षेत्र, पालिका र वडामा केन्द्रित रहन भनिएको छ ।

यसैगरी एउटा वडाको क्रियाशील सदस्य अर्को वडामा नगएर हाम्रो वडा हामी जिताउँछौँ उद्घोषका साथ आआफ्नै वडामा खट्न कांग्रेसले भनेको छ ।

कांग्रेसले पार्टीका सबै भ्रातृ र शुभेच्छुक संस्थामा आवद्धहरूलाई सोही बमोजिम जिम्मेवारी निभाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्