नेपाल (हेटौंडा) । नेपाली कांग्रेसमा निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले कांग्रेसको निर्णयका कारण देश निर्वाचनमय बनेको बताउनुभएको छ ।
कांग्रेसको आयोजनामा हेटौँडामा आइतबार भएको छुट्टाछुट्टै क्रियाशील कार्यकर्तासँगको भेटघाट तथा छलफल कार्यक्रममा उहाँले कांग्रेसले निर्वाचनमा जाने निर्णय गरेसँगै देश निर्वाचनतर्फ उन्मुख बनेको बताउनुभयो ।
मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार उपाध्यायले मकवानपुर जिल्लाको समृद्धिको संकल्प बोकेर हिडेको बताउँदै कांग्रेसको जितले नै नागरिकको समृद्धिको सपनाले सार्थकता पाउने बताउनुभयो ।
नयाँ र पुराना पार्टीको कुरा होइन कांग्रेसले निर्वाचन जाने निर्णय गरेपछि सबै राजनीतिक दल निर्वाचनमा जान तयार भएका हुन् कांग्रेस नेतृ डिनाले भन्नुभयो, कांग्रेस त्यस्तो पार्टी हो जसले लोकतन्त्रको पक्षमा, देश र जनताको पक्षमा निर्णय गर्छ, नेपालको संविधानको रक्षाका लागि निर्वाचनमा जाने निर्णय गरेको हो ।
उहाँले भन्नुभयो, हामीले वर्तमान सरकार वैधानिक सरकार होइन भनेका थियौ, तर निर्वाचनले सही मार्ग लैजान्छ भन्ने मान्यतासहित कांग्रेसले निर्वाचनमा जाने निर्णयपछि सबै दलहरु निर्वाचनमा जाने निर्णयमा पुगेका हुन् ।
उहाँले अब नयाँ पार्टीको कुरा होइन कांग्रेसले जे निर्णय गर्छ त्यो निर्णयमा सबै पार्टी आउन पर्ने भन्दै नेपाली जनताको विश्वाससमेत कांग्रेसप्रति रहेको बताउनुभयो ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ र ६ मा भएको कार्यक्रममा कांग्रेस नेतृ डिनाले मकवानपुरको विकासका लागि आफूसँग मात्र दृढ ईच्छा शक्ति र सामथ्र्य रहेको भन्दै जनताको भावना बुझेर काम गर्नु स्पष्ट पार्नुभयो ।
यही जमिनमा बसेर काम गर्ने संकल्प छ, नागरिकप्रति भएको अन्यायका विरुद्धमा लडेको हुँ, जनता र कार्यकर्ताको न्यायको लडेको हुँ, महिलाको अधिकारको लागि पनि लडेको हुँ उहाँले भन्नुभयो, महिला हराउने जिल्लामा यो जिल्ला गणना नहोस् ।
उहाँले पछाडि परेको वर्ग, समुदायको बोलेको छुँ, काम गरेको भन्दै कांग्रेसको जिल्लाको विकासका लागि कांग्रेसलाई जिताउन आग्रह गर्नुभयो ।
हेटौँडा उपमहानगरपालिका वडा नं २ का कांग्रेस वडा सभापति भवसागर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य उमा दाहाल, केन्द्रीय प्रतिनिधि गीता सत्याल, जिल्ला निर्वाचन परिचालन समितिका संयोजक माइकल रामचन्द्र अर्याल, सदस्य अशोक शाक्य, हेटौँडा उपमहानगरपालिका वडा नं २ का वडाध्यक्ष विष्णुगोपाल महर्जनलगायतले बोल्नुभएको थियो ।
यस्तै हेटौँडा उपमहानगरपालिका वडा नं २ का कांग्रेस वडा सभापति रामहरि तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला निर्वाचन परिचालन समितिका सदस्यहरु आनन्दराम पराजुली, रीता खनाल, क्षेत्र नम्बर १ का संघीय सभापति दामोदर खनाल, हेटौँडा ६ का वडा उपसभापति ठाकुरप्रसाद चौलागाईलगायतले बोल्नुभएको थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्